बलात्कार आरोपपछि ‘पाँच पाण्डव’बाट निकालिए सागर लम्साल, ९० प्रतिशत खिचिएका दृश्य पुनः छायांकन गरिने



काठमाडौं – अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमार्फत बलात्कार जस्तो गम्भीर आरोप लगाएपछि अभिनेता सागर लम्साल ‘बले’लाई निर्माणाधीन चलचित्र ‘पाँच पाण्डव’बाट निस्कासन गरिएको छ। निर्माण टोलीले नैतिक दायित्व सम्झँदै लम्सालसँगको सम्झौता तत्कालै लागू हुने गरी खारेज गरेको हो।

चलचित्र निर्माता कम्पनी कालीरानी फिल्म्स प्रा.लि.ले एक औपचारिक विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको छ। गत चैत २ गतेदेखि झापा र त्यसको आसपासका क्षेत्रमा चलचित्रको छायांकन भइरहेको थियो। लम्सालको हकमा करिब ९० प्रतिशत दृश्यहरू क्यामेरामा कैद भइसकेको अवस्थामा यो गम्भीर विवाद सतहमा आएको हो। निर्माण पक्षले अब लम्साल अभिनित कुनै पनि फुटेजलाई चलचित्रमा स्थान नदिने र उनको सट्टामा नयाँ कलाकार अनुबन्ध गरेर ती सबै दृश्य पुनः छायांकन गर्ने निर्णय लिएको छ।

चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठले अन्तिम चरणमा पुगिसकेको कलाकारको दृश्य हटाएर फेरि खिच्दा निर्माण कम्पनीले ठूलो आर्थिक भार व्यहोर्नुपर्ने यथार्थलाई स्वीकार गरेका छन्। यद्यपि, आरोपितबाट पीडित बनेकी युवतीको मानसिक तथा शारीरिक आघातको तुलनामा चलचित्रले व्यहोर्ने आर्थिक नोक्सानी निकै गौण रहेको र नैतिकताको कसीमा पैसाको हिसाबकिताब नहुने निर्माण पक्षको ठम्याइ छ।

जघन्य अपराधको आरोप लागेको व्यक्तिलाई समाज निर्माणको सन्देश बोकेको तथा ‘पाण्डव’ जस्तो पवित्र नाम जोडिएको चलचित्रमा आबद्ध गराइराख्नु अनुचित हुने विज्ञप्तिमा उल्लेख छ। आरोपितलाई फिल्ममा निरन्तरता दिँदा कानुनी र न्याय प्रक्रियामै अनुचित प्रभाव पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सम्झौता तोडिएको कम्पनीले प्रष्ट पारेको छ। साथै, निर्माण पक्षले घटनाको निष्पक्ष छानबिन गरी पीडितलाई यथाशीघ्र न्याय दिलाउन सम्बन्धित निकायसँग अपिल समेत गरेको छ।

कानुनबमोजिम लम्सालले आफ्नो प्रतिरक्षा गर्ने र कानुनी लडाइँ लड्ने अधिकार राखे पनि नैतिक रूपमा गम्भीर प्रश्न उठिसकेपछि उनलाई पर्दामा देखाउनु शोभनीय नहुने प्रस्तुतकर्ता श्रेष्ठको जिकिर छ। बसन्त निरौलाको निर्देशनमा तयार भइरहेको यस चलचित्रमा नेपाली रजतपटका दिग्गज अनुहारहरू हरिवंश आचार्य र दीपाश्री निरौलाका साथमा जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी लगायतको शीर्ष भूमिका रहेको छ। लम्सालको बर्खास्तीपछि रिक्त रहेको स्थानमा अब कुन कलाकारले प्रवेश पाउनेछन् भन्नेबारे भने निर्माण टोलीले हालसम्म कुनै जानकारी गराएको छैन।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu