
काठमाडौं – कमलपोखरीस्थित रसियन हाउसमा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सहकार्यमा ‘रसियन फिल्म डेज’को औपचारिक सुरुवात भएको छ। शुक्रबार बिहान आयोजित एक विशेष समारोहबीच यस महोत्सवको उद्घाटन गरिएको हो।
उद्घाटन कार्यक्रममा नेपालका लागि रसियन मिनिस्टर काउन्सिलर एवं चार्ज डी अफेयर्स रिनचिन रक्साएब र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले विशेष अतिथिका रूपमा उपस्थित थिए। समारोहलाई सम्बोधन गर्दै मिनिस्टर काउन्सिलर रक्साएबले समाज रूपान्तरणमा चलचित्रको प्रभाव अत्यन्तै गहिरो हुने भन्दै विभिन्न देशका चलचित्र उद्योग र त्यहाँ आबद्ध व्यक्तिहरूबीच आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्न ‘रसियन फिल्म डेज’ले निरन्तर प्रयास गरिरहेको धारणा राखे। सोही क्रममा उनले निफको नवौं संस्करणको उद्घाटन सत्रमा नेपालको पहिलो रंगीन चलचित्र ‘कुमारी’का निर्देशक, नायिका र छायाकारसँग साक्षात्कार गर्न पाउँदाको सुखद र विशेष अनुभव समेत स्मरण गरेका थिए।
त्यसैगरी, ललितकलाका सदस्य सचिव काफ्लेले नेपाल र रूसबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठको ऐतिहासिक सन्दर्भ पारेर निफ र रसियन फिल्म डेजबीच भएको यो सहकार्यले विशेष अर्थ र महत्व बोकेको बताए। कार्यक्रमका सभाध्यक्ष तथा निफका अध्यक्ष केपी पाठकले स्वागत मन्तव्य राख्दै यस प्रकारका सांस्कृतिक आदानप्रदानले दुई राष्ट्रबीचको सम्बन्धलाई थप प्रगाढ र आत्मीय बनाउने विश्वास व्यक्त गरे। अर्की सभाध्यक्ष अनास्थासिया खक्खलोभाले चलचित्र महोत्सवसँगै रसियन हाउसमै सञ्चालन भइरहेको ‘एआई फिल्म वर्कसप’ (कृत्रिम बौद्धिकतामा आधारित चलचित्र कार्यशाला) मा उत्साहजनक सहभागिताका लागि सम्पूर्णलाई आह्वान गरिन्।
उद्घाटन सत्रलगत्तै ऐतिहासिक तथा थ्रिलर विषयवस्तुमा आधारित चलचित्र ‘अगस्ट’को प्रदर्शनसँगै महोत्सवको सांगीतिक तथा दृश्य यात्रा अघि बढेको थियो। इल्या लेबेदेव र निकिता वैसोत्स्कीको संयुक्त निर्देशनमा तयार भएको यस चलचित्रले दोस्रो विश्वयुद्धको अन्त्यतिर शत्रुलाई परास्त गर्न अघि बढेको सोभियत संघको रेड आर्मीलाई पछाडिबाट हुन सक्ने सम्भावित आक्रमणबाट जोगाउन ‘काउन्टर इन्टेलिजेन्स एजेन्सी’ले गरेको अदम्य संघर्षको कथालाई पर्दामा उतारेको छ।
यस महोत्सवको प्रमुख आकर्षणको रूपमा भने क्लिम शिपेन्कोद्वारा निर्देशित चलचित्र ‘द च्यालेन्ज’ रहेको छ, जुन अन्तरिक्षमै छायांकन गरिएको विश्वकै पहिलो चलचित्र हो। शून्य गुरुत्वाकर्षण भएको अन्तरिक्ष स्टेसनमा पुगेर एक चिकित्सकले बिरामीको शल्यक्रिया गर्नुपर्ने अत्यन्तै जटिल र साहसिक कथावस्तुले दर्शकलाई पृथक् र रोमाञ्चक अनुभूति दिलाउनेछ।
यसका अतिरिक्त महोत्सवमा म्याक्सिम भोल्कोभ निर्देशित एड्भेन्चर तथा पारिवारिक चलचित्र ‘द डिनो फ्यामिली’ र इभानोभा लेक्जान्ड्रा निर्देशित ‘अल रङ गर्ल’ समेत प्रदर्शन हुनेछन्। ‘द डिनो फ्यामिली’ले भूलवश डाइनोसरको युगमा पुगेकी एक किशोरीले आफ्नो जीवन रक्षाका लागि भीमकाय जनावरहरूसँग गरेको संघर्षलाई समेटेको छ। त्यस्तै, ‘अल रङ गर्ल’ले समाजमा व्याप्त ‘बुलिङ’ (गिज्याउने प्रवृत्ति) विरुद्धको गम्भीर मुद्दालाई उठान गरेको छ, जसमा अधिक तौल भएका कारण आफ्नो एकतर्फी प्रेमीबाटै अपमानित हुनुपरेपछि दश कक्षामा अध्ययनरत एक छात्राले गर्ने विद्रोहको कथा छ।


