निफमा ‘सिजाङ पानोरमा’: भेनिसमा छाएको ‘स्नो लियोपार्ड’देखि युवा सर्जकको ‘पिचिङ’सम्म



काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत ‘सिजाङ पानोरमा’ खण्डमा अन्तर्राष्ट्रिय स्तरमै चर्चा कमाएका फिल्महरूले दर्शकको ध्यान तानेका छन्। यसै क्रममा सन् २०२३ को प्रतिष्ठित भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर भई प्रशंसा बटुल्न सफल चिनियाँ फिल्म ‘स्नो लियोपार्ड’ निफमा प्रदर्शन गरिएको छ। निर्देशक पेमा छेडनद्वारा निर्देशित यस फिल्मले तिब्बती गोठालाहरूको कठिन दैनिकी र मानव तथा प्रकृतिबीचको सहअस्तित्वको मार्मिक कथालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।

महोत्सवको प्रतिस्पर्धाभन्दा बाहिर रहेको यस विशेष प्रदर्शन खण्ड ‘सिजाङ पानोरमा’ अन्तर्गत शनिबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा अन्य तीन उत्कृष्ट फिल्मले पनि पर्दा पाए। गुओ यिफी निर्देशित ‘होम अवे होम क्लोज’मा स्थानीय गोठालाहरूलाई सेवा दिने उद्देश्यले ‘मोबाइल फोटो स्टुडियो’ सञ्चालन गर्न एक युवकले भोगेको भौगोलिक सङ्घर्षलाई देखाइएको छ। यसैगरी, ज्याक मालाटेरेको निर्देशन रहेको ‘लर्नर्स फ्रम द टप अफ द वर्ल्ड’ले गम्भीर शैक्षिक मुद्दालाई उठान गरेको छ भने सियाओ सियाओवाई निर्देशित ‘सनराइज ओभर द प्लेटो’ले साधारण परिवारको शिक्षा, अर्थतन्त्र र सांस्कृतिक जीवनमा आएका अकल्पनीय परिवर्तनहरूलाई उजागर गरेको छ।

‘सिजाङ पानोरमा’को यो विशेष आकर्षण आइतबार पनि जारी रहनेछ। आइतबार ‘वारियर किङ’ र ‘डिस्कोभरिङ सिजाङ २०२६’ नामक थप दुई फिल्म प्रदर्शन हुने तालिका रहेको आयोजकले जनाएको छ।

यसका साथै, निफमा शनिबार प्रतिस्पर्धात्मक खण्डमा रहेका अन्य विभिन्न फिल्महरू सिभिल मल, छाया सेन्टर र रसियन हाउसमा उत्साहजनक रूपमा प्रदर्शन भएका छन्। चलचित्र प्रदर्शनमा मात्र सीमित नरही, नेपाली चलचित्र उद्योगलाई नयाँ कथा र प्रतिभा दिने उद्देश्यले पर्यटन बोर्डमै ‘निफ फिचर पिच’ कार्यक्रमसमेत आयोजना गरिएको थियो। उक्त कार्यक्रममा उदीयमान तथा युवा लेखकहरूले आफ्ना नयाँ र मौलिक कथाहरू निर्माताहरूलाई सुनाएर चलचित्र निर्माणको सम्भावनालाई नजिक ल्याउने प्रयास गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu