अलौकिक प्रेमकथा बोकेको ‘तरङ्ग’ को फर्स्टलुक सार्वजनिक



काठमाडौं – प्रदीपकुमार चौधरीको डेब्यु चलचित्र ‘तरङ्ग’ को आधिकारिक प्रचारप्रसार सुरु भएको छ। निर्माण कम्पनी देवदत क्रियसनले आइतबार चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै दर्शकमाझ यसको पहिलो झलक पस्किएको हो। सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य दुई पात्र वरुण अधिकारी र रविना केसीलाई प्रस्तुत गरिएको छ। उत्सव पाण्डेले डिजाइन गरेको उक्त पोस्टरमा यी दुई कलाकारबिचको गहिरो तर मौन प्रेम भावलाई कलात्मक रूपमा उतार्ने प्रयास गरिएको छ।

निर्देशक चौधरीकै कथा रहेको यस चलचित्रलाई ‘सुपर नेचुरल लभस्टोरी’ अर्थात् अलौकिक प्रेमकथाको रूपमा चिनाइएको छ। निर्माण पक्षका अनुसार, ‘तरङ्ग’ ले नेपाली समाजले सामान्यतया देख्दै र भोग्दै आएको भन्दा नितान्त फरक र नौलो शैलीको प्रेमकथा पर्दामा ल्याउनेछ। देवदत क्रियसन र एभी फिल्मीको संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रले नेपाली रजतपटमा दर्शकलाई नयाँ स्वाद दिने निर्माण टिमको दाबी छ।

चलचित्रमा वरुण र रविनाका अलावा बारात लिम्बु, कृष्ण थापा, सारा राई, उज्ज्वल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारु, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग जस्ता कलाकारहरूको जम्बो टोलीले अभिनय गरेका छन् भने बाल कलाकारका रूपमा प्रन्शु चौधरीले स्क्रिन सेयर गरेका छन्। तर्कराज जोशी र जितेन्द्रकुमार चौधरीको लगानी रहेको यस चलचित्रको कार्यकारी निर्मातामा हरिनारायण चौधरी रहेका छन्। महेश पौडेलको छायाङ्कन रहेको चलचित्रलाई सन्देश शाहले सम्पादन गरेका छन् भने द्वन्द्व निर्देशनको जिम्मा सम्राट् बस्नेतले सम्हालेका छन्। चलचित्रमा मनोज थापा मगर, पवन गिरी र मनोज महतोको सङ्गीत तथा सुशील डङ्गोल र सुदीप श्रेष्ठको पार्श्व ध्वनि सुन्न सकिन्छ। निर्माण व्यवस्थापनको मुख्य जिम्मेवारी भने रिजन परियारले निर्वाह गरेका छन्।

देशका विभिन्न रमणीय स्थानहरू मोरङ, सुनसरी, पाल्पा, रुपन्देही, चितवन र कास्कीमा छायाङ्कन गरिएको ‘तरङ्ग’ को प्रदर्शन मिति भने हालसम्म तय भइसकेको छैन। यद्यपि, निर्देशक चौधरीले यसै साताभित्र आधिकारिक रिलिज मिति घोषणा गर्दै चलचित्रको व्यापक प्रचारप्रसारमा होमिने जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu