‘लालीबजार’ले ल्यायो आमा–छोरीको प्रेम दर्साउने गीत ‘मिठो संसार’



काठमाडौं – षट्कोण आर्ट्सको प्रस्तुति रहेको नेपाली चलचित्र ‘लालीबजार’ले दोस्रो साङ्गीतिक कोसेली ‘मिठो संसार’ दर्शकमाझ पस्किएको छ। चलचित्रको पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ ले युट्युबमा एक करोड भ्युजको आँकडा पार गरेको खुसीयालीमा केक काटेर उत्सव मनाएको निर्माण पक्षले लगत्तै यो नयाँ गीत सार्वजनिक गरेको हो। चलचित्रका मर्मस्पर्शी दृश्यहरूलाई उनेर तयार पारिएको यस लिरिकल भिडिओले दर्शकको ध्यान तान्ने अपेक्षा गरिएको छ।

जयन जे वाइवाको शब्द तथा सङ्गीत रहेको ‘मिठो संसार’ मा चर्चित गायिका समीक्षा अधिकारीसँगै दिलिजा रुवाली, अलिशा शर्मा र पूर्णिमा तामाङको सुमधुर स्वर सुन्न सकिन्छ। त्यसै गरी, गुराँस ठकुरी र गायत्री राना मगरले कोरसमा साथ दिएका छन्। चलचित्रका लेखक तथा निर्देशक यम थापाका अनुसार यो गीत चलचित्रको मूल कथावस्तुसँग प्रत्यक्ष जोडिएको छ। आमा र छोरीबिचको गहिरो भावनात्मक सम्बन्ध, छोरीप्रतिको अथाह प्रेम र उनलाई हुर्काउन एक आमाले गर्ने सङ्घर्षलाई गीतले मार्मिक रूपमा चित्रण गरेको निर्देशक थापाले बताए। सार्वजनिक भिडिओमा अभिनेत्री स्वस्तिमा खड्का, नव–नायिका प्रशंसा सुवेदी र बाल कलाकार समाइरा थापा फिचर्ड छन्।

आगामी वर्ष वि.सं. २०८३ वैशाख १८ गतेलाई प्रदर्शन मिति तोकेको यस चलचित्रको सम्पूर्ण छायाङ्कन बर्दियाको रमणीय थलो राजापुरमा गरिएको हो। चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, बाल कलाकार समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत लगायतका कलाकारहरूको जम्बो टोलीले अभिनय गरेको छ। यसै चलचित्रमार्फत रङ्गमञ्चका होनहार अभिनेता तथा निर्देशक विशाल देवकोटा र ‘जेनजी’ पुस्तामाझ लोकप्रिय अभिनयकर्ता प्रशंसा सुवेदीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्।

यम थापाको कथा तथा निर्देशन रहेको ‘लालीबजार’ को पटकथा र संवाद लेखनमा निर्देशक थापालाई सफल निर्देशक प्रदीप भट्टराईले सघाएका छन्। भट्टराई यस चलचित्रका कार्यकारी निर्माता समेत हुन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँले निर्माताको जिम्मेवारी सम्हालेका छन्। जेबी रुवालीको क्रिएटिभ निर्देशन रहेको चलचित्रमा सुशन प्रजापतीको उत्कृष्ट छायाङ्कन, मित्रदेव गुरुङको सम्पादन र सम्राट बस्नेतको द्वन्द्व निर्देशन समावेश छ। प्रकाश सपूत, खेम सेञ्चुरी र जयन जे वाइवाको सङ्गीत रहेको चलचित्रको ब्याकग्राउण्ड म्युजिक र मिक्सिङको काम रोहित शाक्य र शैलेश श्रेष्ठले गरेका हुन्। प्राविधिक पक्षलाई बलियो बनाउन रुपकप्रताप अधिकारी प्रोडक्सन हेड, रेनिश फागोको कलर, समिर श्रेष्ठ र सत्यम रानाको भिएफएक्स, उमेश चौधरीको कला निर्देशन, रोयल भीमसेनको पब्लिसिटी डिजाइन, जानकी कडायतको कस्ट्युम तथा काव्या थापाको मेकअप रहेको निर्माण पक्षले जनाएको छ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu