
काठमाडौं – छोटो भिडियो सेयरिङ प्लेटफर्म टिकटकबाट लाखौँ दर्शकको मन जित्न सफल आयुष सिंह ठकुरी अब ठुलो पर्दामा आफ्नो जादु देखाउन तयार भएका छन्। माइकल चन्दको लेखन तथा निर्देशन रहेको बहु प्रतीक्षित चलचित्र ‘राम नाम सत्य’मार्फत उनले नेपाली रजतपटमा डेब्यु गर्न लागेका हुन्। आगामी चैत २७ गते शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको यस चलचित्रको रिलिजको पूर्व सन्ध्यामा मिडियासँग कुराकानी गर्दै आयुषले आफ्नो पहिलो फिल्मी यात्राबारे उत्साह व्यक्त गरेका छन्।
आफूलाई अन्य चलचित्रका अफरहरू निरन्तर आइरहे पनि ‘राम नाम सत्य’को कथावस्तुले गहिरो प्रभाव पारेपछि मात्रै काम गर्न तयार भएको उनले खुलाए। यस चलचित्रमा आफ्नो चरित्रले दर्शकलाई पूर्ण रूपमा आश्चर्यचकित पार्ने आयुषको दाबी छ। फिल्मको सार्वजनिक ट्रेलरमा समावेश उनको एउटा संवादलाई लिएर परिवार र आफन्तले समेत उनको स्वर ठम्याउन नसकेको रोचक प्रसङ्ग उनले सुनाए। पछि आफैँले जानकारी गराएपछि मात्रै परिवारका सदस्यहरू छक्क परेको बताउँदै उनले आफ्नो भूमिकामा जीवन्तता भर्नका लागि निकै मेहनत गरेको र त्यो पर्दामा झल्किने विश्वास व्यक्त गरे।
सामाजिक सञ्जालमा पाएको लोभलाग्दो क्रेजलाई सिनेमा हलसम्म तान्ने चुनौतीलाई लिएर आयुष निकै सकारात्मक छन्। हाललाई चलचित्रको व्यापारिक पाटोभन्दा पनि दर्शकले आफ्नो काम र अभिनयलाई रुचाउने कुरामा आफू बढी केन्द्रित रहेको उनले प्रस्ट पारे। विदेशमा रहेका नेपाली दर्शकहरूले नेपालमा रहेका आफन्त र साथीभाइका लागि अग्रिम टिकट खरिद गरिदिने र हल नै बुक गरिदिने जस्ता सुखद सन्देशहरू प्राप्त भइरहेको बताउँदै उनले दर्शकको यही उत्साहले आफूलाई थप ऊर्जा मिलेको सुनाए।
सस्पेन्स र थ्रिलर विषयवस्तुमा निर्माण भएको यस चलचित्रले हरेक कोणबाट दर्शकलाई भरपुर मनोरञ्जन दिने आयुषले दाबी गरेका छन्। निर्माण पक्षले यसै चलचित्रको सिक्वेलसमेत ल्याउने तयारी गरिरहेको उनले जानकारी दिए। सिक्वेलमा आफ्नो चरित्रको गहिराइ बुझ्नका लागि पनि दर्शकले पहिलो भाग छुटाउनै नहुने उनको भनाइ छ। पहिलो फिल्मबाटै अभिनयको भोक जागेका आयुषले अब निरन्तर नेपाली चलचित्र क्षेत्रमै सक्रिय रहने उद्घोष गरेका छन्। यद्यपि, हतारमा काम गर्नुभन्दा पनि आफूलाई थप निखारेर र तयार गरेर मात्र आगामी प्रोजेक्टहरूमा जोडिने उनको योजना छ।
नयाँ वर्षको अवसर पारेर सोलो रिलिज हुन लागेको ‘राम नाम सत्य’ले बक्स अफिसमा बम्पर ओपनिङ गर्ने विश्लेषण वितरकहरूले गरेका छन्। उपेन्द्र शाही र श्वेता बिमलीको निर्माण रहेको यस चलचित्रमा आयुषका साथमा बिराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनिल थापा, प्रशान्त ताम्राकार र खुसी कार्की लगायतका चर्चित अनुहारहरूको बलियो स्टारकास्ट रहेको छ।


