‘परालको आगो’बाट सात वर्षपछि निर्माता सुशील पोखरेलको सानदार पुनरागमन



काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा ‘पत्यारिला निर्माता’ को दरिलो छवि बनाएका सुशील पोखरेल करिब सात वर्षको लामो अन्तरालपछि शक्तिशाली प्रोजेक्टका साथ दर्शकमाझ फर्किँदै छन्। पछिल्लो पटक ‘यात्रा’ चलचित्र निर्माण गरेका पोखरेल चलचित्र ‘परालको आगो’ मार्फत आफ्नो सानदार पुनरागमन गर्दैछन्। आफ्नो उत्पादनमाथि अधिकांश निर्माताहरू सशङ्कित र त्रसित रहने वर्तमान परिदृश्यमा, उनी भने यस फिल्मको उत्कृष्ट निर्माण र सफलताप्रति निकै विश्वस्त देखिएका छन्। चलचित्रका सार्वजनिक गीत र पोस्टरले दर्शकमाझ राम्रै चर्चा बटुलिसकेका छन्, जसले नेपाली सिने उद्योगमा यस फिल्मले ठुलै फड्को मार्ने अपेक्षा जगाएको छ।

पोखरेल नेपाली चलचित्रका त्यस्ता अनुभवी हस्ती हुन्, जसले दुई फरक पुस्ताका कलाकारलाई जोड्ने ऐतिहासिक सेतुको काम गरेका छन्। कुनै समय चर्चित अभिनेत्री झरना थापासँग काम गरेका उनले अहिले ‘परालको आगो’ मा झरनाकी छोरी सुहाना थापासँग सहकार्य गरिरहेका छन्। यो संयोगले उनको लामो र सफल फिल्मी विरासतलाई स्पष्ट पार्छ। विगतमा उनले ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शङ्कर’, ‘निगरानी’, ‘बडीगार्ड’, ‘लभसब’ र ‘राधे’ जस्ता हिट तथा यादगार चलचित्रहरू नेपाली रजतपटलाई दिइसकेका छन्। विशेष गरी ‘जय शिव शङ्कर’, ‘जीवनदाता’ र ‘मैदान’ जस्ता फिल्मले ठुला स्टारकास्टका साथ उनको सफलताको बलियो प्रमाण पेस गर्छन्।

सामाजिक यथार्थ र गहिरो भावनात्मक कथामा आधारित ‘परालको आगो’ आगामी वैशाख ११ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ। यस चलचित्रमा सौगात मल्ल, सुहाना थापा र प्रकाश सपुत मुख्य भूमिकामा देखिनेछन्। लक्ष्मण सुनारको निर्देशन रहेको यस प्रोजेक्टको सशक्त पटकथा तथा संवाद सुशील देवकोटाले तयार पारेका हुन्।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुलभी पोखरेल र सत्यम पोखरेलले निर्माणको जिम्मेवारी सम्हालेका छन्। चलचित्रको साङ्गीतिक पक्ष पनि निकै वजनदार छ। शान्ति टाल, सत्य-स्वरूप आचार्य र प्रकाश सपुतको सङ्गीत रहेको यसमा मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले शब्द कोरेका छन् भने पार्श्व सङ्गीत किरण तुलाधरले तयार पारेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu