प्राविधिक काम सम्पन्न भएसँगै ‘लालीबजार’को अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री खुला



काठमाडौं – आगामी वर्ष वैशाख १८ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘लालीबजार’को सम्पूर्ण प्राविधिक काम सम्पन्न भएको छ। चलचित्र पूर्ण रूपमा तयार भएसँगै निर्माण कम्पनी षट्कोण आर्ट्सले यसको अन्तर्राष्ट्रिय (डायस्पोरा) वितरण अधिकार बिक्री प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएको छ।

विगतका चलचित्रहरूबाट डायस्पोराका वितरकलाई राम्रो मुनाफा दिलाएर विश्वासिलो ब्रान्डको पहिचान बनाएको षट्कोण आर्ट्सले यस पटक प्राविधिक झन्झट नहोस् भन्ने उद्देश्यले निर्माण सकेर मात्र राइट्स बेच्ने रणनीति अपनाएको हो। चलचित्रमा समावेश ‘मायालाई के दिऊँ म बैना’ बोलको गीत अत्यधिक लोकप्रिय बनेसँगै विदेश राइट्स खरिदका लागि थुप्रै प्रस्तावहरू आए पनि निर्माण पक्षले चलचित्र तयार नहुन्जेल पर्खिने निर्णय गरेको थियो। गत फागुन २९ गते सार्वजनिक भएको उक्त गीतले एक महिना नपुग्दै युट्युबमा एक करोड पन्ध्र लाखभन्दा बढी भ्युज पाइसकेको छ भने टिकटक लगायतका सामाजिक सञ्जालमा समेत हजारौँ भिडियोहरू बनेका छन्।

चलचित्र तीन साताअघि नै प्रदर्शनका लागि तयार भइसकेको जानकारी दिँदै निर्माता म्याक्स दीपेश खत्रीले अब प्राप्त प्रस्तावहरूमाथि निर्माण समूहमा छलफल गरी सम्झौता गरिने बताएका छन्। अन्तर्राष्ट्रिय वितरकले विगतमा भोगेका सास्तीलाई मध्यनजर गर्दै आफूहरूले पहिला चलचित्र तयार गर्ने अनि मात्र अधिकार हस्तान्तरण गर्ने बाटो रोजेको उनको भनाइ छ। वैशाखको पहिलो सातासम्म सम्पूर्ण अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गरिसक्ने निर्माण पक्षको तयारी छ। यस्तै, चलचित्रका लेखक तथा निर्देशक यम थापाले ‘लालीबजार’मार्फत नेपाली दर्शकले अहिलेसम्म पर्दामा नदेखेको कथा हेर्न पाउने दाबी गरेका छन्। मनोरञ्जनका साथसाथै सामाजिक उत्तरदायित्वलाई समेत मनन गरेर यो विशेष चलचित्र निर्माण गरिएको उनले प्रस्ट पारेका छन्।

बर्दियाको राजापुरमा छायाङ्कन गरिएको यस चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी र बिरबल चौधरी लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ। यसै चलचित्रमार्फत रङ्गमञ्चका अनुभवी कलाकार एवं निर्देशक विशाल देवकोटा र पछिल्लो पुस्ता माझ चर्चित प्रशंसा सुवेदीले रजतपटमा डेब्यु गर्दैछन्। निर्देशक यम थापाको मूल कथा तथा निर्देशन रहेको यस चलचित्रको पटकथा र संवाद भने निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा तयार पारेका हुन्।

‘लालीबजार’मा प्रदीप भट्टराई कार्यकारी निर्माताका रूपमा रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँले निर्माताको जिम्मेवारी सम्हालेका छन्। चलचित्रको प्राविधिक पक्षलाई उत्कृष्ट बनाउन जेबी रुवाली (क्रिएटिभ निर्देशक), सम्राट बस्नेत (द्वन्द्व निर्देशक), सुशन प्रजापती (छायाङ्कन निर्देशक) र मित्रदेव गुरुङ (सम्पादक) जस्ता स्थापित नामहरू जोडिएका छन्। प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको सङ्गीत रहेको चलचित्रमा रोहित शाक्य र शैलेश श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक तथा मिक्सिङ छ। त्यसै गरी, रेनिश फागोको कलर, समीर श्रेष्ठ र सत्यम रानाको भिएफएक्स, उमेश चौधरीको कला निर्देशन, रोयल भीमसेन (ट्राइडेन्ट) को पब्लिसिटी डिजाइन, जानकी कडायतको कस्ट्युम तथा स्टाइलिङ र काव्या थापाको मेकअपले चलचित्रलाई थप आकर्षक बनाएको छ। चलचित्रको प्रोडक्सन हेडको जिम्मेवारी भने रुपकप्रताप अधिकारीले निर्वाह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu