
काठमाडौं – नेपाली रजतपटका चर्चित अभिनेता पुष्प खड्का र अभिनेत्री पूजा शर्मा आगामी चलचित्र ‘एक्का तीन’मा एकसाथ देखिने भएका छन्। एक्सन जनरामा निर्माण हुन लागेको यस चलचित्रका लागि निर्माण पक्षले अभिनेता खड्कासँग कागजी सम्झौता गरेसँगै उनीहरूको जोडी पक्का भएको हो। अभिनेत्री शर्मा भने यसअघि नै चलचित्रको मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेकी थिइन्। निर्देशक रुपेश तामाङको निर्देशनमा बन्न लागेको यस चलचित्रको छायाङ्कन आगामी वर्षको जेठ महिनाबाट सुरु गर्ने तयारी गरिएको छ।
निर्देशक तामाङका अनुसार हाल चलचित्रको प्रि–प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको छ भने कलाकार छनोट प्रक्रिया पनि धमाधम अघि बढिरहेको छ। ‘एक्का तीन’मार्फत एक जना नयाँ अभिनेता र एक जना नयाँ अभिनेत्रीलाई नेपाली चलचित्र उद्योगमा डेब्यु गराउने निर्माण टिमको योजना रहेको छ। यद्यपि, चलचित्रमा अभिनेता पुष्प खड्काको चरित्र कस्तो रहनेछ भन्ने बारे निर्माण पक्षले हालसम्म केही खुलाएको छैन। सुमन गजमेरको कथा रहेको यस चलचित्रलाई जुना फिल्मस् र अधिरा फिल्मस्को ब्यानरमा संयुक्त रूपमा निर्माण गर्न लागिएको हो।
यसअघि केही म्युजिक भिडियोहरूमा सँगै काम गरेर दर्शकको मन जितिसकेका पुष्प र पूजाले चलचित्र ‘३६ को आँकडा’मा पनि स्क्रिन सेयर गरेका थिए। यी दुईको अनस्क्रिन केमेस्ट्रीलाई रुचाइएको हुँदा ठुलो पर्दामा उनीहरूलाई पुनः एकसाथ हेर्न दर्शकहरू निकै उत्साहित रहेका छन्। अभिनेता खड्काको प्रवेशसँगै चलचित्रको स्टारकास्ट लाइनअप थप बलियो बनेको र दर्शकको अपेक्षा झन् बढ्ने विश्वास निर्माण पक्षले लिएको छ।


