भावनात्मक कथा लिएर फर्किँदै तुलसी घिमिरे, ‘पहाड’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक



काठमाडौं – नेपाली चलचित्र क्षेत्रका ख्यातिप्राप्त निर्देशक तुलसी घिमिरे आफ्नो पुरानै मौलिक र भावनात्मक कथा वाचनको शैलीसहित दर्शकमाझ फर्किने तयारीमा छन्। उनको नयाँ चलचित्र ‘पहाड’को कारुणिक र मर्मस्पर्शी ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको छ। आगामी नयाँ वर्ष अर्थात् २०८३ साल वैशाख १ गते देखि नेपालभरका सिनेमाघरमा प्रदर्शनमा आउने यस चलचित्रले दर्शकलाई नयाँ वर्षको अवसरमा एउटा उत्कृष्ट सामाजिक कथा पस्कने जमर्को गरेको छ।

सार्वजनिक भएको केही मिनेट लामो ट्रेलरले नै दर्शकको मन छुन सफल भएको छ। ट्रेलरका दृश्य र जीवन्त संवादहरूले नेपाली ग्रामीण भेगको सङ्घर्षपूर्ण जीवनशैली, बसाइसराइको पीडा र समय क्रमसँगै बदलिँदो सामाजिक परिवेशलाई गहिराइबाट प्रस्तुत गरेका छन्। पहाडी जनजीवनसँग जोडिएको मानवीय संवेदना र परिवारभित्रका सम्बन्धमा आउने उतारचढावलाई केन्द्रबिन्दुमा राखेर निर्माण गरिएको यो चलचित्रले आम नेपालीको आफ्नै माटोको कथा बोल्ने ट्रेलरबाट प्रस्ट हुन्छ।

‘दर्पणछायाँ’, ‘बलिदान’ र ‘चिनो’ जस्ता कालजयी चलचित्र निर्देशन गरेर नेपाली दर्शकको हृदयमा अमिट छाप छाडेका निर्देशक घिमिरेकै पटकथामा ‘पहाड’ तयार भएको हो। सधैँभरि मानवीय संवेदना र सामाजिक यथार्थलाई सरल तरिकाले पर्दामा उतार्न माहिर मानिने घिमिरेले यस पटक पनि आफ्नो स्थापित शैलीलाई निरन्तरता दिएका छन्। ट्रेलरले देखाएको भावनात्मक गहिराइले चलचित्रप्रति दर्शकको उत्सुकता र अपेक्षालाई थप उचाइमा पुर्‍याएको छ।

भाग्यरत्न फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा नेपाली रजतपटका दिग्गजदेखि लिएर नयाँ पुस्ताका कलाकारहरूको बलियो उपस्थिति देख्न सकिन्छ। चलचित्रमा मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, शिव श्रेष्ठ, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, प्रियङ्का कार्की लगायतका चर्चित अनुहारहरूसँगै भारती घिमिरे, अरुण क्षेत्री, पञ्चमी घिमिरे, रेणुनाथ योगी, उमा गिरी, आशा पौडेल, अङ्कित खड्का, हिउँवाला गौतम, अरुण रेग्मी र रेहना केसीको सशक्त अभिनय रहेको छ। रिम्पोछे थिङ, सुरेन्द्र थिङ, ओजस्वी केसी र उमा गिरीले संयुक्त रूपमा निर्माण गरेको यस प्रोजेक्टमा बलिउडका प्रमोद प्रधानले छायाङ्कनको जिम्मा सम्हालेका छन् भने दिग्गज सङ्गीतकार रञ्जित गजमेरको सुमधुर सङ्गीत सुन्न सकिनेछ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu