
काठमाडौं – आगामी नयाँ वर्ष अर्थात् वैशाख १ गतेदेखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘पहाड’डले आफ्नो प्रिमियर शोबाटै उत्कृष्ट प्रतिक्रिया बटुल्न सफल भएको छ । दिग्गज निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको यस चलचित्रले बेरोजगारी, युवा पलायन, रित्तिँदै गएका बस्ती र खानेपानीको चरम अभावजस्ता गम्भीर सामाजिक मुद्दालाई उठान गरेको छ । प्रिमियरमा सहभागी चलचित्रकर्मी तथा सेलिब्रेटीहरूले कथावस्तुको गाम्भीर्यता र कलाकारहरूको जीवन्त अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
चलचित्र हेरिसकेपछि वरिष्ठ चलचित्रकर्मी नीर शाहले ‘पहाड’ ले विशुद्ध नेपालीपनलाई उजागर गरेको भन्दै निर्देशक घिमिरेले समसामयिक विषयलाई आफ्नै मौलिक शैलीमा पस्किएको बताए । उनले यस चलचित्रले दर्शकलाई पहाडको यथार्थसँग साक्षात्कार गराउने धारणा राखे । त्यसैगरी, विगतमा घिमिरेसँग ‘कुसुमे रुमाल’ जस्तो कालजयी चलचित्रमा सहकार्य गरेका सदाबहार नायक भुवन केसीले ‘पहाड’ लाई सपरिवार हेर्न मिल्ने एक ‘कम्प्लिट प्याकेज’ को संज्ञा दिए । कथाले दर्शकलाई मनोरञ्जनका साथै भावुक समेत बनाउने उनको भनाइ थियो । ‘दर्पणछायाँ’ फेम अभिनेता जितु नेपालले चलचित्र हेर्दा आफू निकै भावुक बनेको अनुभव सुनाउँदै नव–अभिनेत्री पञ्चमी घिमिरेको डेब्यु अभिनयको तारिफ गरे । साथै, दीपाश्री निरौला, दीपक आचार्य, दिवाकर भट्टराई, रमेश उप्रेती र किरण केसी लगायतका कलाकर्मीले पनि चलचित्रले नेपालको वास्तविक धरातललाई पर्दामा उतार्न सफल भएको भन्दै बधाई ज्ञापन गरे ।
प्रिमियरमा प्राप्त उत्साहजनक प्रतिक्रियाबाट निर्देशक तथा लेखक घिमिरे निकै प्रफुल्लित देखिएका छन् । सुन्दर पहाडहरू जनशक्ति अभावमा कसरी रित्तो र उजाड बन्दै गइरहेका छन् भन्ने कथा चलचित्रले बोकेको बताउँदै उनले यो समग्र देशकै यथार्थ चित्रण भएको दाबी गरे । पहिलो दर्शकका रूपमा उपस्थित कलाकर्मीको मायाले आफ्नो मेहनतको फल मिलेको उनको भनाइ छ । यसै चलचित्रमार्फत अभिनय यात्राको थालनी गरेकी निर्देशक घिमिरेकी कान्छी सुपुत्री पञ्चमीले पर्दा पछाडि काम गरेको अनुभव भए पनि पर्दा अगाडि आफूलाई देख्दा निकै भावुक अनुभूति भएको बताइन् । अग्रजहरूबाट धेरै सिक्ने अवसर पाएकी उनले दर्शकको प्रतिक्रियाको व्यग्र प्रतीक्षामा रहेको सुनाइन् । त्यस्तै, अभिनेता अरुण क्षेत्रीले बाल्यकालदेखि नै आदर्श मान्दै आएका निर्देशक घिमिरेसँग काम गर्न पाउनु आफ्नो लागि ठूलो सौभाग्य रहेको भन्दै कृतज्ञता व्यक्त गरे ।
युवा पलायनको दर्दनाक अवस्था र त्यसले निम्त्याएको सामाजिक–आर्थिक सङ्कटलाई मुख्य विषयवस्तु बनाइएको यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, सुनिल थापा, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, रेनुनाथ योगी, उमा गिरी र पञ्चमी घिमिरे लगायतका स्थापित तथा नवकलाकारहरूको बलियो उपस्थिति रहेको छ । लामो समयपछि निर्देशक घिमिरेले ‘बलिदान’ का मदनकृष्ण तथा ‘चिनो’ का शिव र सुनिललाई फेरि एउटै प्रोजेक्टमा जोडेका छन् । यसको छायाङ्कन भारतमा समेत लामो अनुभव सँगालेका र विगतमा ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ तथा ‘दक्षिणा’ जस्ता चलचित्रमा घिमिरेसँग सहकार्य गरिसकेका प्रमोद प्रधानले गरेका हुन् ।
भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘पहाड’ मा साङ्गीतिक क्षेत्रका हस्ती रञ्जित गजमेरको सङ्गीत रहेको छ । उत्तम रसाइली प्रस्तुतकर्ता रहेको यस चलचित्रमा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माताका रूपमा रहेका छन् भने भारती घिमिरे क्रिएटिभ निर्माताको भूमिकामा छिन् । पारिवारिक जमघटकै रूपमा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् । कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य, कुमार महर्जनको द्वन्द्व तथा शङ्कर कोइराला र भारती घिमिरेको सम्पादन रहेको यो चलचित्रलाई नेपालभित्र वैङ्कटेश इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्दैछन् । प्रचारप्रसारको डिजाइन भने रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले तयार पारेका हुन् ।


