चलचित्र ‘पाँच पाण्डव’ मा बलेको भूमिकामा सुशील सिटौला



काठमाडौं – वसन्त निरौलाको निर्देशनमा हाल छायांकन भइरहेको चलचित्र ‘पाँच पाण्डव’ मा प्रतिभावान अभिनेता सुशील सिटौला अनुबन्धित भएका छन् । शुसील यसअघि चलचित्रबाट निस्कासित कलाकार सागर लम्साल ‘बले’को भूमिकामा रिप्लेस गरिएका हुन् । केही दिनदेखि सिटौलाले छायांकनमा सहभागिता जनाइसकेका छन् । यससँगै चलचित्रको शीर्ष ‘पाँच पाण्डव’ को टोली फेरी पनि पूर्ण भएको छ । चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठले सिटौला भित्रिएको पुष्टि गरे । यस चलचित्रमार्फत सिटौलाले नेपाली रजतपटका दिग्गज अभिनेता हरिवंश आचार्यलगायतका हस्तीहरूसँग स्क्रिन सेयर गर्दैछन् ।

सागरलाई अमेरिकामा बस्ने एक नेपाळी छात्राले बलात्कार गरेको आरोप लगाएसँगै सो चलचित्रबाट हटाइएको थियो । तत्पश्चात प्रहरीले पक्राउ गरी जमानीमा रिहा समेत गरिसकेको छ ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा नेपाली सिने क्षेत्रका स्थापित र नयाँ पुस्ताका चर्चित अनुहारहरूको बलियो जमघट देख्न सकिन्छ । चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौलाले मुख्य ‘पाँच पाण्डव’ को चरित्र निर्वाह गर्नेछन् । यसका साथै, केही समयअघि मात्र भर्सटायल अभिनेता प्रशान्त ताम्राकार र चर्चित मोडल तथा कन्टेन्ट क्रिएटर इभा गिरी पनि यो टोलीमा जोडिएका थिए । त्यस्तै, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने र रमा थपलिया जस्ता अनुभवी कलाकारहरूको पनि यस चलचित्रमा महत्त्वपूर्ण भूमिका रहनेछ ।

कथाकार तथा लेखक सुशील पौडेलका अनुसार यो चलचित्र विशुद्ध सामाजिक विषयवस्तुमा आधारित ‘सोसल ड्रामा’ हो । महाभारतका पाँच पाण्डवको चरित्र र बिम्बलाई कलात्मक रूपमा प्रयोग गर्दै यसले समकालीन नेपाली समाजको यथार्थ कथालाई पर्दामा उतार्ने छ । पौडेलकै कथा, पटकथा तथा संवाद रहेको यस प्रोजेक्टलाई दृश्यमा कैद गर्ने जिम्मा भने छायाँकार श्याम तामाङले सम्हालिरहेका छन् ।

गत चैत २ गते नेपाल–भारतको सीमावर्ती सहर काँकडभिट्टामा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन प्रारम्भ गरिएको थियो । हाल झापाका विभिन्न रमणीय तथा महत्त्वपूर्ण स्थानहरूमा यसको धमाधम सुटिङ भइरहेको छ । निर्देशक निरौलाका अनुसार झापाको सेड्युल सकिएपछि निर्माण टोली छायांकनका लागि अन्य स्थानहरूतर्फ प्रस्थान गर्नेछ । काली रानी श्रेष्ठको निर्माण रहेको यस चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्, जसले गत वर्ष मात्र ‘लाज शरणम्’ नामक चलचित्र दर्शकमाझ पस्केका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu