‘बोक्सीको घर’को सफलतापछि केकीको नयाँ भेन्चर ‘स्टेशन’ घोषणा, भदौ १९ मा पर्दामा आउने



काठमाडौं – २०८१ सालको ब्लकबस्टर चलचित्र ‘बोक्सीको घर’ बाट बक्स अफिसमा सानदार उपस्थिति जनाएकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले आफ्नो तेस्रो प्रोजेक्टको रूपमा नयाँ चलचित्र ‘स्टेशन’ निर्माण गर्ने भएकी छन्। नयाँ वर्ष २०८३ को सुखद अवसर पारेर मंगलबार उनले आगामी भदौ १९ गतेलाई प्रदर्शन मिति तोक्दै यस चलचित्रको औपचारिक निर्माण घोषणा गरेकी हुन्।

सार्वजनिक गरिएको फस्ट-लुक पोस्टरले चलचित्र क्राइम-थ्रिलर विधामा निर्माण हुन लागेको स्पष्ट संकेत गरेको छ। पोस्टरको डिजाइनले दर्शकलाई पुनः ‘बोक्सीको घर’ कै जस्तो रहस्यमय र सस्पेन्सपूर्ण अनुभूति गराउँछ। रातो रंगमा लेखिएको चलचित्रको शीर्षकको ‘शन’ अक्षरलाई टेपले टाँसेर छोपिएको छ भने पृष्ठभूमिमा ल्यापटपका साथै अनुसन्धानका क्रममा भित्तामा टाँसिने विभिन्न कागजपत्र र विवरणहरू देख्न सकिन्छ। यसले चलचित्रले कुनै गम्भीर अपराध र त्यसको अनुसन्धानको कथा बोल्ने अनुमान लगाउन सकिन्छ।

निर्माण घोषणाको सन्दर्भमा सामाजिक सञ्जालमार्फत आफ्ना भनाइ राख्दै केकीले समयको परिवर्तनसँगै दर्शकलाई नयाँ र परिमार्जित कथावस्तु पस्कन लागेको स्पष्ट पारेकी छन्। समय र वर्ष बदलिँदा कथा बदलिए पनि सपनाको रंग सधैँ उस्तै रहने भाव व्यक्त गर्दै उनले त्यही रंगले कोरिएको नयाँ यात्राका रूपमा ‘स्टेशन’ लाई अथ्र्याएकी छन्। ‘केकी अधिकारी फिल्म्स’ को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रले बदलिएको समयको भिन्न कथा बोल्ने उनको भनाइ छ।

यस चलचित्रको निर्देशनको जिम्मा सुलक्षण भारतीले पाएका छन्, जसले यसअघि ‘बोक्सीको घर’ को सफल निर्देशन गरेर आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्। मूलतः रंगमञ्चको पृष्ठभूमिबाट आएका भारती स्वयंले यस चलचित्रको कथा समेत तयार पारेका हुन्। त्यसैगरी, चलचित्रको निर्माण पक्षमा केकीका पिता बद्री अधिकारी रहेका छन्। करिब डेढ दशकअघि ‘इन्द्रावती’ र ‘लडाइँ’ जस्ता चलचित्र निर्देशन गरेर नेपाली चलचित्र उद्योगमा आफ्नो बलियो छाप छोडिसकेका उनी यसपटक छोरीको तेस्रो प्रोजेक्टमा निर्माताको भूमिकामा जोडिएका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu