
काठमाडौं – नेपाली रजतपटमा पहिलो पटक अभिनेता विजय बराल र अभिनेत्री पूजा शर्माको अनस्क्रिन जोडी बाँधिने भएको छ। नयाँ वर्षको सुखद अवसर पारेर मंगलबार निर्माण पक्षले चलचित्र ‘रत्यौली’को आधिकारिक फस्टलुक पोस्टर सार्वजनिक गर्दै यस नयाँ जोडीलाई दर्शकमाझ चिनाएको हो। निर्देशक मुस्कान ढकालको निर्देशनमा तयार हुन लागेको यस चलचित्रमार्फत यी दुई चर्चित कलाकारले पहिलो पटक एकसाथ स्क्रिन सेयर गर्न लागेका हुन्।
सार्वजनिक पोस्टरले चलचित्रको विषयवस्तु र पात्रको लुक्सबारे रोचक संकेत गरेको छ। पोस्टरमा पूजा र विजयलाई परम्परागत रत्यौली नाचमा झुमिरहेको अवस्थामा प्रस्तुत गरिएको छ। अझ चाखलाग्दो कुरा त के छ भने, अभिनेत्री शर्मा जुँगासहित पुरुषको पहिरनमा सजिएकी छन् भने अभिनेता बराल लामो घुम्रिएको कपाल र जुँगासहित निकै प्रफुल्ल मुद्रामा देखिएका छन्। उनीहरूको पृष्ठभूमिमा अन्य महिलाहरू ताली बजाउँदै रमाइलो गरिरहेको दृश्यले चलचित्रको मूल कथावस्तु नेपाली समाजको मौलिक रत्यौली परम्परा र त्यसभित्रको रमाइलो परिवेशमै केन्द्रित हुने स्पष्ट अनुमान लगाउन सकिन्छ।
यस चलचित्रको निर्माण नाइटिङ्गेल इन्टरटेन्मेन्ट र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा हुन लागेको हो। चलचित्रको प्रस्तुतकर्ताका रूपमा स्वयं अभिनेत्री पूजा शर्मा रहेकी छन् भने निर्माताको जिम्मेवारी सुरज आचार्यले सम्हाल्नेछन्। यस प्रोजेक्टलाई पूजाको फिल्मी करियरको एउटा महत्त्वपूर्ण र साहसिक कदम मानिएको छ। विगत लामो समयदेखि निर्देशक सुदर्शन थापाको ‘क्याम्प’ र निर्देशनमा मात्र लगानी गर्दै आएकी उनी पहिलो पटक त्यस वृत्तबाट बाहिर निस्किएर अर्को ब्यानर र निर्देशकसँग सहकार्य गर्दै चलचित्र निर्माणमा होमिएकी हुन्।


