
काठमाडौं – नयाँ वर्षको सुखद अवसर पारेर चलचित्र ‘कार्की साइँला’को फस्टलुक पोस्टर र आधिकारिक प्रदर्शन मिति सार्वजनिक गरिएको छ। दर्शकमाझ हास्य कलाकारको रूपमा बलियो छाप छोडेका अभिनेता जितु नेपाललाई मुख्य भूमिकामा प्रस्तुत गरिएको यस चलचित्र आगामी साउन १ गतेदेखि देशभरका सिनेमा घरमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।
सार्वजनिक पोस्टरले चलचित्रको कथावस्तु र परिवेशबारे निकै रोचक संकेत गरेको छ। पोस्टरमा अभिनेता जितुलाई नितान्त फरक र आकर्षक लुक्ससहित एक भरियाको अवतारमा प्रस्तुत गरिएको छ। उनले बोकेको डोकोभित्रको पहाडी आकृतिमा अन्य पाँच जना भरियाहरू लस्करै हिँडिरहेको दृश्य र आकाशमा उडिरहेका चराहरूले चलचित्रको मूल कथालाई प्रतीकात्मक रूपमा झल्काएका छन्। यसका साथै, पोस्टरको तल्लो भागमा एक युवतीले पुरुषको कुममा टाउको राखेको प्रेमिल दृश्य पनि समावेश छ, जसले ती रहस्यमय जोडी को हुन् भन्ने विषयमा दर्शकमाझ थप कौतूहल जगाएको छ। यसबाट जितुको अहिलेसम्मकै भिन्न र गम्भीर भूमिका यस चलचित्रमा देख्न पाइने पक्का भएको छ।
निर्देशक राजेन्द्र बस्नेतले जितु नेपालको परम्परागत हास्य छविलाई चिर्दै उनलाई एक भरियाको संघर्षपूर्ण जीवनकथामा ढालेका छन्। पूर्वी नेपालका रमणीय स्थानहरू धनकुटाका साथै सुनसरीको चतरा र वराहक्षेत्रलगायतका ठाउँमा छायांकन गरिएको यस चलचित्रमा जितु नेपालका साथमा प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायतका कलाकारहरूको महत्त्वपूर्ण अभिनय रहेको छ।
कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् भने निर्माताको जिम्मेवारी बालकुमार राईले सम्हालेका छन्। डम्बर राईको छायांकन रहेको चलचित्रमा मुख्य सहायक निर्देशकका रूपमा रोजल थापा रहेका छन्। त्यसैगरी, चलचित्रमा किरण दाहालको द्वन्द्व निर्देशन, दिप्सन लिम्बुको संगीत र सिबी भण्डारीको प्रोडक्सन व्यवस्थापन रहेको छ। कुबेर फिल्मस्ले यस चलचित्रलाई देशभर वितरण गर्ने जिम्मा लिएको छ।


