
काठमाडौं – नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर मंगलबारदेखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘पहाड’ ले दर्शकहरूको राम्रो साथ पाएको छ। बसाइँसराइ, बेरोजगारी र जलवायु सङ्कटजस्ता गम्भीर तथा समसामयिक विषयवस्तुमा निर्माण भएको यस चलचित्रले हलहरूमा सकारात्मक प्रतिक्रिया पाउँदा निर्माण पक्ष निकै उत्साहित देखिएको छ।
चलचित्रप्रति दर्शकको उत्साहजनक प्रतिक्रिया प्रत्यक्ष रूपमा बुझ्न यतिबेला निर्माण टोली काठमाडौँ उपत्यकाका विभिन्न सिनेमा हलहरूमा पुगिरहेको छ। लामो समयपछि यसै चलचित्रमार्फत निर्देशनमा ‘कमब्याक’ गरेका अग्रज निर्देशक तुलसी घिमिरेले दर्शकको मायाले आफूसहित सम्पूर्ण टोलीमा ऊर्जा थपेको बताए।
चलचित्रका प्रमुख अभिनेता विपिन कार्कीले बेरोजगारी, मानिसविहीन बन्दै गएका पहाड र त्यसले निम्त्याएको सङ्कटजस्ता यथार्थपरक विषयले दर्शकको मन छोएको दाबी गरे। दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले आगामी दिनमा हलहरूमा दर्शकको चाप थप बढ्नेमा उनी विश्वस्त देखिए। त्यस्तै, अर्का अभिनेता अरुण क्षेत्रीले पहाडको सुन्दरता र त्यहाँको सद्भावको चित्रणसँगै बढ्दो युवा पलायनले निम्त्याएको रित्तोपनको मर्मस्पर्शी कथालाई चलचित्रले न्यायपूर्वक उठान गरेको प्रस्ट पारे।
युवा जनशक्ति विदेश पलायन हुँदा गाउँघरमा सिर्जित सामाजिक तथा आर्थिक सङ्कटलाई गहिरो ढङ्गले प्रस्तुत गरिएको यस चलचित्रमा नेपाली रजतपटका दिग्गज तथा नयाँ पुस्ताका कलाकारहरूको सशक्त जमघट रहेको छ। चलचित्रमा मदनकृष्ण श्रेष्ठ, सुनील थापा, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, रेणुनाथ योगी र उमा गिरीको जीवन्त अभिनय रहेको छ भने पञ्चमी घिमिरेले यसै चलचित्रबाट अभिनय यात्राको थालनी (डेब्यु) गरेकी छन्। हल भिजिटका क्रममा सार्वजनिक भएका तस्बिरहरूमा कलाकार र दर्शकबीच भइरहेको आत्मीय भलाकुसारीले पनि चलचित्रप्रतिको बढ्दो आकर्षणलाई प्रस्ट पारेको छ।


