
काठमाडौं – आगामी वैशाख ११ गतेलाई प्रदर्शन मिति तय गरेको नेपाली चलचित्र ‘परालको आगो’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच निर्माण पक्षले चलचित्रको औपचारिक झलक दर्शकमाझ ल्याएको हो।
सार्वजनिक ट्रेलरले ग्रामीण परिवेश, पारिवारिक उतारचढाव र सामाजिक कथावस्तुलाई पर्दामा उतारेको छ। मुख्य पात्रका रूपमा देखिएका प्रकाश सपुत र सुहाना थापाबीचको श्रीमान्-श्रीमतीको घरझगडा र त्यसपछिको वियोगलाई ट्रेलरमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ। आवेगमा आएर श्रीमतीलाई कुटपिट गरेपछि पछुताउँदै खोजीमा भौंतारिएको पतिको कथाले दर्शकको मन छुने देखिन्छ। अर्कोतर्फ, छिमेकीको भूमिकामा रहेका सौगात मल्ल र सिर्जना अधिकारीलाई भने अत्यन्तै सुमधुर सम्बन्ध भएको आदर्श जोडीका रूपमा देखाइएको छ।
लक्ष्मण सुनारको निर्देशनमा तयार भएको यस चलचित्रले नेपाली समाजभित्र लुकेका मनोवैज्ञानिक द्वन्द्व र भावनात्मक संघर्षलाई कलात्मक रूपमा उठान गरेको छ। ट्रेलरमा प्रयोग गरिएको आगोको झिल्को र अँध्यारो पृष्ठभूमिले कथाको प्रतीकात्मक गहिराइ तथा रहस्यमय पाटोलाई झल्काउँछ। स्मरण रहोस्, यो चलचित्र नेपाली साहित्यका मूर्धन्य कथाकार गुरुप्रसाद मैनालीको प्रसिद्ध कथासंग्रह ‘नासो’मा सङ्ग्रहित ‘परालको आगो’मा आधारित छ। यसै कथामाथि आधारित रहेर ४५ वर्षअघि प्रताप सुब्बाले समेत सोही नाममा चलचित्र निर्देशन गरेका थिए।
हरि ॐ सिने मेकर्स प्रा.लिको ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुशील पोखरेल, सुलभी पोखरेल र सत्यम पोखरेलको लगानी रहेको छ। चलचित्रमा सौगात, प्रकाश, सुहाना र सिर्जनाका अलावा किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने तथा बाल कलाकार मन्जिला बानियाँको जीवन्त अभिनय देख्न सकिन्छ। सुशील देवकोटाको लेखन रहेको यस चलचित्रलाई संकल्प भुजेलले क्यामेरामा कैद गरेका हुन्। चलचित्रको प्राविधिक पक्ष पनि निकै सबल देखिएको छ; जसमा मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन, कनाल कँवरको रंग संयोजन, तथा समिर मिया र सत्यम रानाको भीएफएक्स रहेको छ। साहिल खानले सम्पादन गरेको टिजर र ट्रेलरमा मुकेश शाहले ५.१ साउन्ड मिक्सिङ गरेका छन्।
त्यसैगरी, चलचित्रको पार्श्व संगीत किरण तुलाधरले तयार पारेका हुन् भने संगीतमा शान्ती ठटाल, सत्य–स्वरुप र प्रकाश सपुतको सहकार्य रहेको छ। गीतका शब्दहरू मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले कोरेका हुन्।
टिजर:


