तिहारको उज्यालोसँगै पर्दामा छाउने भयो ‘पाँच पाण्डव’



काठमाडौं – नेपाली सिने जगतमा प्रभावशाली कलाकारहरूको ‘लाइनअप’का कारण निकै चर्चामा रहेको चलचित्र ‘पाँच पाण्डव’ ले आफ्नो प्रदर्शनको औपचारिक मिति तय गरेको छ। निर्माण पक्षले दर्शकहरूको विशेष उपस्थिति रहने तिहारको पावन अवसरलाई लक्षित गर्दै यस चलचित्रलाई देशभरका हलहरूमा प्रदर्शन गर्ने निर्णय गरेको हो।

बिदाको समयमा दर्शकहरूले खोज्ने पूर्ण मनोरञ्जनलाई ध्यानमा राख्दै निर्माण टिमले तिहारको मिति रोजेको हो। प्रदर्शन मिति सार्वजनिक भएसँगै चलचित्रको वितरण अधिकार रोहित कट्टेल र रत्न श्रेष्ठको अग्रणी वितरण कम्पनी आरआर फिल्मस्ले प्राप्त गरेको छ। प्रस्तुतकर्ता नवीन श्रेष्ठले वितरकहरूसँगको गहन छलफलपछि नै व्यापारिक दृष्टिकोणले निकै बलियो मानिने तिहारको समय रोजिएको जानकारी दिएका छन्। वितरक रोहित कट्टेलले चलचित्रको विषयवस्तु र कलाकारहरूको सशक्त उपस्थितिले आफूहरूलाई उत्साहित तुल्याएको बताउँदै ‘पाँच पाण्डव’ व्यावसायिक र कलात्मक दुवै पक्षबाट सफल हुने दाबी गरेका छन्।

चलचित्रको सबैभन्दा बलियो पक्ष यसको कलाकार समूह रहेको छ। नेपाली रजतपतका मुर्धन्य कलाकार हरिवंश आचार्यसँगै जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला ‘पाँच पाण्डव’का प्रमुख पात्रका रूपमा देखिनेछन्। उनीहरूको साथमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार र मोडल इभा गिरीको समेत सशक्त अभिनय रहनेछ। अनुभवी र नयाँ पुस्ताका कलाकारहरूको यो समिश्रणले चलचित्रप्रति दर्शकको अपेक्षा थप बढाएको छ।

बसन्त निरौलाको निर्देशनमा तयार भइरहेको यो चलचित्रलाई लेखक सुशील पौडेलले एक ‘सोसल ड्रामा’को रूपमा व्याख्या गरेका छन्। पौराणिक ग्रन्थ महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथालाई यसमा उधिनिएको छ। काली रानी फिल्मस्को ब्यानरमा नबिन श्रेष्ठको प्रस्तुति तथा काली रानी श्रेष्ठले निर्माण गरिरहेको यस चलचित्रको छायांकन गत चैत २ गते काँकडभिट्टाबाट सुरु गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu