
काठमाडौं – वादी समुदायका महिलाहरूले भोग्दै आएको पुस्तौनी पीडा र अस्तित्व रक्षाको लडाइँलाई पर्दामा उतारेको चलचित्र ‘लालीबजार’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच निर्माण टोलीले तीन मिनेट लामो उक्त भिडियो झलक दर्शकमाझ पस्किएको हो। यम थापाको निर्देशनमा तयार भएको यस चलचित्रको केन्द्रमा अभिनेत्री स्वस्तिमा खड्का रहेकी छन्, जसले ट्रेलरमार्फत नै दर्शकको गहिरो ध्यान तान्न सफल भएकी छन्।
सार्वजनिक ट्रेलरले समाजमा जकडिएको कुप्रथा र अभिजात्य वर्गको हैकमलाई सशक्त रूपमा प्रस्तुत गरेको छ। विशेषगरी ‘नत्थी प्रथा’ जस्तो चरम शोषणमूलक व्यवस्थाको आडमा वादी समुदायका चेलीहरूले सहनुपरेको शारीरिक तथा मानसिक यातनालाई ट्रेलरमा कारुणिक ढंगले बुनिएको छ। देह व्यापारको अँध्यारो दुनियाँमा धकेलिन बाध्य एक वादी महिलाको भूमिकामा देखिएकी अभिनेत्री खड्काले आफ्नी कलिली छोरीलाई उक्त दलदलबाट जोगाउन गरेको अदम्य संघर्ष नै चलचित्रको मूल कथावस्तु रहेको प्रष्ट हुन्छ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै मुख्य अभिनेत्री खड्काले यस चलचित्रलाई आफ्नो अभिनय यात्राको एक महत्त्वपूर्ण कोशेढुंगा मानेकी छन्। ‘लालीबजार’लाई निकै विशेष र हृदयको नजिक रहेको बताउँदै उनले बक्स अफिसको व्यापारिक नतिजा भन्दा पनि यसले दिने आत्मसन्तुष्टि आफ्ना लागि ठूलो रहेको जिकिर गरिन्। धेरै वर्षपछि फर्केर हेर्दा पनि आफूलाई यस कामप्रति सधैं गर्व महसुस हुने र यो आफ्ना लागि सधैं ‘चेयर्स’ गर्न लायक सिर्जना बनेको उनको भनाइ थियो।
वैशाख १८ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनको तयारीमा रहेको यस चलचित्रमा स्वस्तिमाका अलावा रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश बादी र सरस्वती अधिकारी लगायतका कलाकारहरूको जीवन्त अभिनय देख्न सकिनेछ। यसै चलचित्रमार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्।
सफल चलचित्र ‘जात्रा’ निर्माण गरेको प्रतिष्ठित कम्पनी षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको ‘लालीबजार’लाई सुशन प्रजापतीले क्यामेरामा कैद गरेका हुन् भने मित्रदेव गुरुङले सम्पादनको अभिभारा सम्हालेका छन्। चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक थापालाई प्रदीप भट्टराईले सघाएका छन्। त्यसैगरी, चलचित्रमा प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको संगीत सुन्न सकिन्छ। म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेको यस प्रोजेक्टमा प्रदीप भट्टराईले कार्यकारी निर्माताको जिम्मेवारी निर्वाह गरेका छन्।


