बक्स अफिसमा एकसाथ ‘मालती मंगले’, ‘लालीबजार’ र ‘गुरु आमा’



काठमाडौं – आज (शुक्रवार) देखि नेपाली बक्स अफिसमा तीन फरक विषयवस्तु र स्वाद बोकेका नेपाली चलचित्रहरू एकसाथ प्रदर्शनमा आएका छन्। दर्शक तथा समीक्षकको उच्च प्रशंसा बटुलेको ‘मालती मंगले’, कानुनी अड्चन पार गर्दै हलमा आइपुगेको ‘लालीबजार’ र शैक्षिक क्षेत्रको कथा बोकेको ‘गुरु आमा’ को देशव्यापी रिलिजसँगै सिनेमा घरहरूमा दर्शकलाई छनोटको उत्कृष्ट विकल्प जुरेको छ।

दर्शकको व्यग्र प्रतीक्षा र उत्कृष्ट समीक्षाका बीच सोसल-ड्रामा ‘मालती मंगले’ देशभर १५० भन्दा बढी शोका साथ प्रदर्शनमा आएको छ। वितरक रोहित कट्टेलका अनुसार आक्रामक शो सङ्ख्या पाएको यस चलचित्रले बक्स अफिसमा सानदार व्यावसायिक यात्रा तय गर्ने सङ्केत दिएको छ। बिहीबार राजधानीमा आयोजित ग्रान्ड प्रिमियरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबी लामिछानेदेखि थुप्रै विशिष्ट सिनेकर्मीहरूले चलचित्रको भरपुर प्रशंसा गरेका थिए।

रानी फिल्म्स र युनि इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा रामकृष्ण ढकालले निर्माण गरेको यस चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन्। चलचित्रको कथावस्तु र प्रस्तुतिसँगै कलाकारहरू विजय बराल, वर्षा राउत र मेक्सम गौडेलको जीवन्त अभिनयले प्रिमियरमा सर्वाधिक चर्चा बटुलेको छ। यसमा प्रकाश घिमिरे, सरिता गिरी लगायतका कलाकारको पनि सशक्त उपस्थिति छ।

यसैगरी, लामो कानुनी झमेला सुल्झिएसँगै यम थापा निर्देशित चलचित्र ‘लालीबजार’ पनि आजैदेखि दर्शकमाझ आएको छ। वादी समुदायकी आमा-छोरीको कठोर संघर्ष र मार्मिक कथामा आधारित यस चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, विशाल देवकोटा लगायतका कलाकारको मुख्य भूमिका छ।

गत वैशाख १८ गते नै प्रदर्शन हुनुपर्ने यो चलचित्रविरुद्ध अदालतमा मुद्दा परेपछि रिलिज रोकिएको थियो। तर, बुधवार उच्च अदालत पाटनले अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गर्दै प्रदर्शनको बाटो खुलाइदिएपछि बिहीबार काठमाडौंमा प्रिमियर गर्दै निर्माण पक्षले यसलाई देशभरका हलमा ल्याएको हो।

शुक्रवारकै रिलिज अन्तर्गत प्रदर्शनमा आएको तेस्रो चलचित्र हो- ‘गुरु आमा’। प्रेम सोनी सुनारको निर्देशन रहेको यस चलचित्रले शिक्षक-शिक्षिका र विद्यार्थीबिचको गहिरो सम्बन्ध र शैक्षिक क्षेत्रको कथालाई उठान गरेको छ। चलचित्रमा दिग्गज अभिनेत्रीहरू मिथिला शर्मा र गौरी मल्लका साथमा बुद्धि तामाङ, सुशील पोखरेल, ध्रुव कोइराला लगायतका कलाकारहरूको अभिनय रहेको छ।।

एकै दिन तीन उत्कृष्ट तर नितान्त फरक जनराका चलचित्रहरू रिलिज हुँदा यो सप्ताहान्तमा बक्स अफिसको माहौल निकै तातिने र दर्शकको राम्रो साथ पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu