
काठमाडौं – चर्चित गायक तथा चलचित्र ‘मालती मंगले’का निर्माता रामकृष्ण ढकालले सामाजिक सञ्जालमार्फत आफ्नो व्यक्तिगत चरित्र हत्या र भ्रामक प्रचार गर्नेहरूविरुद्ध कडा कानुनी कदम चालेका छन्। पछिल्लो समय फेसबुकलगायतका माध्यमबाट निकृष्ट गालीगलौज र करियर नै समाप्त पारिदिने धम्कीसहितका सामग्रीहरू फैलाइएपछि उनले नेपाल प्रहरीको साइबर ब्युरो, भोटाहिटीमा विधिवत रूपमा उजुरी दर्ता गराएका हुन्।
आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै ढकालले स्वतन्त्रताको आडमा कसैको अस्तित्वमाथि नै धावा बोल्ने घृणित कार्य सैह्य नहुने स्पष्ट पारेका छन्। विशेषगरी जापानबाट सञ्चालित “Kekaj online Nepal” नामक फेसबुक पेजले श्रृंखलाबद्ध रूपमा प्रहार गरिरहेको उल्लेख गर्दै उनले सोही पेजविरुद्ध पहिलो कानुनी कारबाही अगाडि बढाइएको जानकारी दिएका छन्। यसका साथै, विश्वका जुनसुकै कुनामा बसेर फेक आइडीमार्फत घृणा फैलाउने र प्रदर्शनरत चलचित्र ‘मालती मंगले’ लगायतका उनका अन्य प्रोजेक्टहरूलाई लक्षित गरी मानसिक तनाव दिने सबैलाई कानुनी कठघरामा ल्याउन डिजिटल प्रमाणसहित प्रहरीमा विवरण बुझाइएको उनले प्रस्ट्याएका छन्।
सामाजिक सञ्जाललाई कसैको जीवन बर्बाद पार्ने हतियार बनाउनेहरूविरुद्धको यस लडाइँमा आफू किञ्चित विचलित नहुने अठोट ढकालले व्यक्त गरेका छन्। हाल एउटा पेजबाट कारबाहीको प्रक्रिया सुरु भए पनि यस प्रकारको अपराधमा संलग्न अन्य सम्पूर्ण फेक आइडी र पेजहरूलाई समेत क्रमशः रिपोर्ट गर्दै कानुनी दायरामा ल्याउने उनको तयारी छ।
कानुन र न्याय प्रणालीमाथि आफ्नो पूर्ण विश्वास रहेको बताउँदै उनले यो कदम साइबर अपराधको सिकार भइरहेका सम्पूर्ण पीडितहरूका लागि एउटा बलियो सन्देश बन्ने विश्वास व्यक्त गरेका छन्। यस कठिन परिस्थितिमा निरन्तर साथ र सद्भाव देखाउने सम्पूर्ण शुभचिन्तक तथा मित्रहरूप्रति उनले कृतज्ञतासमेत प्रकट गरेका छन्।






