‘माउथ पब्लिसिटी’ले व्यापारमा छलाङ मार्दै चलचित्र ‘मालती मंगले’



काठमाडौं – गत शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘मालती मंगले’ ले घरेलु बक्स अफिसमा सुखद र गतिशील व्यापार गरिरहेको छ। सुरुवाती शोहरूमा सामान्य ओपनिङ गरेको यस चलचित्रले शनिवार दिउँसोदेखि भने अप्रत्याशित रूपमा दर्शकको उल्लेख्य साथ पाउन थालेको हो। चलचित्र हेरेर निस्किएका दर्शकहरूले स्वतःस्फूर्त रूपमा दिएको उत्कृष्ट ‘माउथ पब्लिसिटी’ र सकारात्मक प्रतिक्रियाकै कारण अहिले देशभरका सिनेमा घरहरूमा दर्शकको चाप ह्वात्तै बढेको छ।

दर्शकको यही उत्साहजनक उपस्थिति र उनीहरूको प्रत्यक्ष प्रतिक्रिया बुझ्न शनिवार दिनभर चलचित्रको जम्बो टोली राजधानीका विभिन्न हलहरूमा पुगेको थियो। निर्माता तथा वरिष्ठ गायक रामकृष्ण ढकालसहित कलाकारहरू वर्षा राउत, विजय बराल, मेक्सम गौडेल र उमेश सुनाम हलमा पुग्दा दर्शकहरूको हुटिङ, सिट्ठी र गडगडाहट तालीले माहौल निकै रोमाञ्चक बनेको थियो। पर्दामा देखेका कलाकारलाई प्रत्यक्ष रूपमा आफ्नै अगाडि पाउँदा दर्शकहरूको क्रेज र उत्साह हलभित्र छताछुल्ल भएको देखिन्थ्यो।

सिनेमा हेरेर बाहिरिएका अधिकांश दर्शकले यसलाई ‘नेपालीपन बोकेको अब्बल मास्टरपिस’ को संज्ञा दिएका छन्। कथावस्तु र प्रस्तुतिले दर्शकलाई पेट मिची मिची हँसाउनेदेखि लिएर आँखा रसाउनेसम्मको गहिरो भावनात्मक यात्रा गराउन सफल भएको छ। विशेष गरी अभिनेत्री वर्षा राउतको मर्मस्पर्शी अभिनय तथा अभिनेता द्वय विजय बराल र मेक्सम गौडेलको दमदार प्रस्तुतिले सबैको मन जितेको छ। दर्शकबाट प्राप्त यो अपार माया र बलियो ‘वर्ड अफ माउथ’ को बाढीले आगामी दिनमा प्रकु पाण्डेय निर्देशित ‘मालती मंगले’ को बक्स अफिस यात्रा थप रफ्तारमा अगाडि बढ्ने निश्चित देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu