
काठमाडौं – गत वर्ष बक्स अफिसमा करिब ४ करोड रुपैयाँको आकर्षक ग्रस कलेक्सन गर्दै व्यावसायिक सफलता हासिल गरेको चलचित्र ‘मन विनाको धन’ को सिक्वेल निर्माण हुने भएको छ। टङ्क बुढाथोकी प्रोडक्सनको दोस्रो प्रस्तुतिको रूपमा ‘मन विनाको धन २’ निर्माणको औपचारिक घोषणा गरिएको हो। अघिल्लो शृंखला झैँ यस चलचित्रलाई पनि टङ्क बुढाथोकी स्वयंले निर्देशन गर्नेछन्।
यसैबीच, चलचित्रको मुख्य अभिनेत्रीका लागि नायिका पूजा शर्मालाई भित्र्याइएको छ। आइतबार निर्देशक बुढाथोकी र अभिनेत्री शर्माबीच चलचित्रमा काम गर्ने विषयमा औपचारिक रूपमा कागजी सम्झौता सम्पन्न भएको छ। यस नयाँ प्रोजेक्टमा जोडिन पाउँदा आफू निकै उत्साहित रहेको बताउँदै अभिनेत्री शर्माले चलचित्रको कथावस्तु विशुद्ध पारिवारिक रहेको र आफ्नो भूमिकाका साथै निर्माण टोलीसमेत उत्कृष्ट लागेका कारण काम गर्न तयार भएको प्रतिक्रिया दिएकी छन्।
विष्णुमाया मैनालीको लगानी रहने यस चलचित्रको कथा र सङ्गीत सिर्जना पनि निर्देशक बुढाथोकीले नै सम्हाल्नेछन्। हाल यस चलचित्रको पटकथा तथा संवाद लेखनमा शिवम् अधिकारी व्यस्त रहेका छन्। आगामी भदौ महिनादेखि चलचित्रलाई फ्लोरमा लैजाने निर्माण पक्षको योजना छ।
चलचित्रका अन्य कलाकारहरूको भने टुङ्गो लाग्न बाँकी छ। हाल प्रि-प्रोडक्सनको काम तीव्र रूपमा भइरहेको जानकारी दिँदै निर्देशक बुढाथोकीले सुरुवाती चरणमा मुख्य अभिनेत्रीका रूपमा पूजालाई अनुबन्ध गरिएको र अब चाँडै नै अन्य कलाकारहरूको छनोट गरी सार्वजनिक गरिने बताएका छन्।





