‘रोल नं १’ को अग्रिम बुकिङ खुला : वर्ड अफ माउथमा निर्माण पक्षको ठुलो विश्वास



काठमाडौं – ‘पूर्ण बहादुरको सारङ्गी’ जस्तो सफल सिनेमा पस्किएका निर्माता विनोद पौडेलको नयाँ प्रस्तुति ‘रोल नं १’ भोलि शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ। प्रदर्शनको पूर्व सन्ध्यामा देशका प्रमुख मल्टिप्लेक्स तथा सिनेमाघरहरूले यस चलचित्रको अग्रिम टिकट बुकिङ खुला गरेका छन्। वितरक द्वय करण श्रेष्ठ र छविराज ओझा (रिच इन्टरटेनमेन्ट र एफडी कम्पनी) का अनुसार सिनेमाले देशभर करिब एक सय पचासको हाराहारीमा शो प्राप्त गरेको छ। देशकै ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले पहिलो दिनका लागि काठमाडौं उपत्यकामा १६ र मोफसलमा (दमौलीबाहेक) १९ शो उपलब्ध गराएको छ। त्यसै गरी, आइएनआइ सिनेमाजले आफ्ना ६ वटा स्टेसनमा ३ का दरले १८ शो, वान सिनेमाजले ५ र बिग मुभिजले ४ शो प्रदान गरेका छन्। उपत्यका र मोफसलका बाँकी केही हलहरूको अन्तिम शो विवरण आज दिउँसो ३ बजेभित्र प्राप्त भइसक्ने वितरक पक्षले जनाएको छ।

‘हरेक विद्यार्थीको कथा’ भन्ने अर्थपूर्ण नारा बोकेको यस सिनेमालाई सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले ग्रेडिङ प्रदान गर्ने क्रममा खुलेर प्रशंसा गरेको छ। सेन्सर बोर्डबाट प्राप्त सकारात्मक प्रतिक्रियाले निर्माण टोलीलाई थप उत्साहित बनाएको छ। उत्कृष्ट कथावस्तु र प्रस्तुतिको बलमा ‘पूर्ण बहादुरको सारङ्गी’ ले जस्तै यस चलचित्रले पनि बिस्तारै दर्शकको अपार माया बटुल्ने र बलियो ‘वर्ड अफ माउथ’ सिर्जना गर्नेमा निर्माण पक्ष पूर्ण रूपमा ढुक्क देखिएको छ।

यस चलचित्रको प्रचारप्रसारलाई निकै फरक र प्रभावकारी शैलीमा अगाडि बढाइएको थियो। मुख्य कलाकारहरूको टोलीले पूर्वको झापादेखि पश्चिमको नेपालगन्जसम्मका विभिन्न विद्यालयहरूमा पुगेर विद्यार्थीहरूसँग प्रत्यक्ष साक्षात्कार गर्दै उनीहरूका मनका कुरा सुन्ने प्रयास गरेको थियो। विद्यालय केन्द्रित प्रचारप्रसार अभियान सम्पन्न गरेको यस टोली, अब चलचित्र प्रदर्शनपश्चात् दर्शकको प्रत्यक्ष प्रतिक्रिया बुझ्न पुनः मोफसल र उपत्यकाका सिनेमा हलहरूमा पुग्ने तयारीमा जुटेको छ।

जौन योञ्जनको निर्देशनमा तयार भएको यस सिनेमामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, एवन राज उप्रेती र सिर्जना अधिकारीको मुख्य अभिनय रहेको छ। त्यसै गरी, बालकलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले जीवन्त अभिनय गरेका छन्। महेश दवाडीको लेखन तथा शिवराम श्रेष्ठको उत्कृष्ट छायाङ्कन (डीओपी) रहेको यस सिनेमामा विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेका छन् भने सह-निर्माताको जिम्मेवारी छत्रमाया गिरी र रमेश चौलागाईंले सम्हालेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu