
काठमाडौं – आगामी साउन १ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गौँथली’को मर्मस्पर्शी टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले चलचित्रको मूल कथावस्तुलाई उजागर गर्दै मुख्य पात्रहरूले भोग्नुपरेको पारिवारिक सङ्घर्ष र सामाजिक यथार्थलाई प्रस्तुत गरेको छ। मुख्य रूपमा श्रीमान्, श्रीमती र आमाबीचको भावनात्मक तथा द्वन्द्वात्मक सम्बन्धलाई यस छोटो भिडियोमा केन्द्रित गरिएको छ।
टिजरमा छोरीको सुखद भविष्यको कामना गर्दै घर बसाउन एउटी आमाले गरेको अथक प्रयास र त्यसको विपरीत छोरीले वैवाहिक जीवनमा भोग्नुपरेको चरम यातनालाई मार्मिक ढङ्गले देखाइएको छ। पढ्ने रहर र उमेर हुँदाहुँदै विवाह बन्धनमा बाँधिएकी युवती (सिम्रन खड्का) र बाहिरबाट हेर्दा इमानदार देखिए पनि व्यवहारमा असामान्य र क्रूर निस्किएका श्रीमान् (अरुण क्षेत्री) बीचको उकुसमुकुसपूर्ण सम्बन्धले दर्शकलाई भावुक बनाउँछ। जन्म दिने आमाको न्यानो काख छोडेर कर्मघर पुगेकी बुहारीप्रति सासूको कठोर व्यवहार र श्रीमान्को अप्रत्याशित खराब रूपले एउटी महिलाको जिन्दगी कसरी तहसनहस हुन्छ भन्ने गम्भीर सन्देश यसले दिएको छ।
डा. कपिल रिजालको निर्देशनमा तयार भएको यस चलचित्रमा अरुण र सिम्रनका साथै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीलगायतका थुप्रै दिग्गज कलाकारहरूको जीवन्त अभिनय रहेको छ। त्यसैगरी, बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले काम गरेका छन्। वरिष्ठ चिकित्सक डा. भोला रिजालको कथा रहेको यस सिनेमाको पटकथा तथा संवाद लेखनमा निर्देशक रिजाललाई निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सघाएका छन्। निर्माण पक्षका अनुसार ‘गौँथली’ शब्दले घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने सुमन गिरी र डा. कपिल रिजाल निर्माताका रूपमा रहेका छन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली यसका सह–निर्माता हुन्। चलचित्रमा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको सङ्गीत, एलिस कार्कीको पार्श्व सङ्गीत, हरि हुमागाईंको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ। रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरणको जिम्मा लिएको यो चलचित्रले नेपाली सिनेमाको एउटा पुरानो इतिहासलाई पनि जोडेको छ। दुई दशकअघि डा. भोला रिजालकै निर्माणमा ‘गौँथली’ नामक नेपालकै पहिलो गीति चलचित्र (म्युजिकल फिल्म) निर्माण भएको थियो, जसले ५१औँ दिन मनाएर सफलता चुमेको थियो। अहिले सोही ऐतिहासिक नाममा उनका छोरा डा. कपिल रिजालले नयाँ कथावस्तुसहितको ‘गौँथली’ दर्शकमाझ ल्याउन लागेका हुन्।






