
काठमाडौं – गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा रहेको चलचित्र ‘रोल नं १’ को राजधानीमा विशेष प्रदर्शनी (स्पेशल स्क्रिनिङ) सम्पन्न भएको छ। निर्माण पक्षले सोमबार आयोजना गरेको उक्त प्रदर्शनीमा सहभागी नेपाली चलचित्र क्षेत्रका दिग्गज हस्ती, हास्य कलाकार तथा राजनीतिज्ञहरूले सिनेमाको खुलेर प्रशंसा गरेका छन्। बालबालिकाको मनोविज्ञान र वर्तमान शैक्षिक प्रणालीमाथि गम्भीर प्रश्न उठाएको यस चलचित्रलाई सहभागीहरूले विद्यार्थीले भन्दा पनि अभिभावकले अनिवार्य हेर्नुपर्ने ‘जीवन्त किताब’ को संज्ञा दिएका छन्।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यस चलचित्रको विशेष प्रदर्शनीमा निर्देशक तुल्सी घिमिरे, पूर्वमन्त्री तथा राष्ट्रिय सभा सदस्य सुनिलबहादुर थापा, एन-प्याब्सनका महासचिव आरबी कटुवालसहित कला क्षेत्रका थुप्रै परिचित अनुहारहरूको उपस्थिति थियो। चलचित्र हेर्न जितु नेपाल, कमलमणि नेपाल, मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’, अञ्जना बराइली, नीता ढुंगाना, सञ्चिता लुइँटेल, गरिमा शर्मा, पञ्चमी घिमिरे, लुनिभा तुलाधर, सरिता गिरी, विशाल भण्डारी, भरतमणि पौडेल, मेक्सम गौडेल र हरिहर अधिकारीलगायत हलमा पुगेका थिए।
चलचित्र हेरेपछि प्रतिक्रिया दिँदै कलाकार जितु नेपालले कक्षाकोठाको प्राप्तांकले मात्र जीवनको सफलता निर्धारण नगर्ने भन्दै शिक्षालाई सीपसँग जोड्नुपर्ने सिनेमाको सन्देश निकै सान्दर्भिक रहेको बताए। त्यस्तै, अर्का कलाकार मरिचमान श्रेष्ठले यसलाई चलचित्रभन्दा पनि पढ्नैपर्ने किताबको रूपमा अर्थ्याए। दुर्गम क्षेत्रको शैक्षिक अवस्था र सन्तानको उज्ज्वल भविष्यका लागि एउटा बाबुले गर्ने सङ्घर्षले आफ्नो मन छोएको उनको भनाइ थियो। अभिनेत्री लुनिभा तुलाधरले आफ्ना बालबालिकाको रुचि र क्षमता पहिचान गर्न हरेक अभिभावकले यो सिनेमा हेर्नैपर्नेमा जोड दिइन्।
किताबी ज्ञानभन्दा व्यावहारिक सीपको महत्त्वलाई चलचित्रले मर्मस्पर्शी ढङ्गले प्रस्तुत गरेको अभिनेत्री सञ्चिता लुइँटेलको निष्कर्ष थियो। अभिनेता हरिहर अधिकारीले चलचित्र हेर्दा आफूलाई आफ्नै विद्यालय जीवन र परीक्षाको डर स्मरण गराएको भन्दै बाबु-छोराको सम्बन्धको उत्कृष्ट चित्रण भएको बताए। यसैगरी, अभिनेत्री नीता ढुंगानाले कलिला मस्तिष्कमा थोपरिने पढाइको अनावश्यक दबाबलाई सिनेमाले यथार्थपरक रूपमा देखाएको र यसले निकै भावुक बनाएको प्रतिक्रिया दिइन्। उपस्थित सबैले मुख्य कलाकारद्वय मुकुन भुसाल र रेणु नाथ योगीका साथै आमाबुबाको सपनाको चेपुवामा परेका बालकलाकारहरूको जीवन्त अभिनयको चौतर्फी प्रशंसा गरेका थिए।
छोराछोरीलाई पढाइका लागि मात्र अनावश्यक दबाब दिने अभिभावक र शिक्षक-शिक्षिकाहरूका लागि यो चलचित्र गतिलो मार्गदर्शक बन्ने सेलिब्रेटीहरूको एकमत छ। जोन योञ्जनको निर्देशनमा तयार भएको यस चलचित्रमा मुकुन र रेणुका अलावा सुशांक मैनाली, एवन राज उप्रेती र सिर्जना अधिकारीको मुख्य भूमिका छ भने निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ बालकलाकारका रूपमा रहेका छन्। महेश दवाडीको लेखन तथा शिवराम श्रेष्ठको छायांकन (डीओपी) रहेको चलचित्रका निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन्। यसमा छत्रमाया गिरी र रमेश चौलागाईंले सह-निर्माताको भूमिका निर्वाह गरेका छन्।




