विद्यार्थीको मन जित्दै ‘रोल नं १’ : सन्तानको मनोविज्ञान बुझ्न अभिभावकलाई हलसम्म आउन निर्माताको आग्रह



काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत चलचित्र ‘रोल नं १’ ले आफ्नो लक्षित दर्शक अर्थात् विद्यार्थी वर्गबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। बाल मनोविज्ञान र शैक्षिक दबाबको कथा बोकेको यस चलचित्रलाई हेरेका अधिकांश विद्यार्थीहरूले आफ्ना उमेर समूहका सबैले हेर्नैपर्ने सिनेमा भन्दै उत्कृष्ट प्रतिक्रिया दिएका छन्। विद्यार्थीहरूबाट प्राप्त यस उत्साहजनक साथले निर्माण पक्षलाई निकै उत्साहित बनाएको छ।

चलचित्रका निर्माता विनोद पौडेलले जुन उद्देश्य र मर्मका साथ सिनेमा निर्माण गरिएको थियो, त्यो सफल भएको प्रतिक्रिया दिएका छन्। विद्यार्थीहरूले चलचित्रको विषयवस्तुलाई गहिरोसँग रुचाएपछि अब आफ्ना सन्तानको मनोभावना बुझ्न अभिभावक र शिक्षकहरूले पनि सिनेमा हेर्नुपर्नेमा उनले जोड दिएका छन्। विद्यमान नेपाली शैक्षिक प्रणालीको त्रुटिपूर्ण मूल्यांकन विधि र त्यसले कलिला मस्तिष्कमा थोपर्ने गम्भीर मानसिक दबाबलाई चलचित्रले यथार्थपरक ढङ्गले उजागर गरेको छ। नबुझाइ र अनावश्यक दबाबका कारण बालबालिकाले भोग्नुपरेको यही मर्मस्पर्शी कथावस्तुले अहिले दर्शकको मन छुन सफल भएको हो।

“यो चलचित्र विद्यार्थी, शिक्षक र अभिभावक सँगै बसेर हेर्नुपर्ने कथा हो,” निर्माता पौडेलले भने, “लक्षित वर्गले नै सिनेमा मन पराएर अरूलाई पनि सिफारिस गरिरहेको अवस्थामा हामी सम्पूर्ण अभिभावकलाई आफ्ना बालबालिका लिएर हलसम्म आउन विशेष आग्रह गर्दछौँ।” सिनेमामा उठाइएको विषयले शिक्षकलाई के पढाउने र कसरी पढाउने भन्ने मार्गदर्शनसमेत गर्ने निर्माण पक्षको विश्वास छ। यसैबीच, सिनेमा हलहरूमा प्राप्त सुखद प्रतिक्रियालाई प्रत्यक्ष रूपमा बुझ्न यतिबेला चलचित्रका कलाकारहरूको टोली काठमाडौं उपत्यका र मोफसलका विभिन्न सिनेमाघरहरूमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेको छ।

जोन योञ्जनको निर्देशनमा तयार भएको यस चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती र सिर्जना अधिकारीको मुख्य अभिनय रहेको छ। त्यसैगरी, बालकलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले जीवन्त प्रस्तुति दिएका छन्। महेश दवाडीको लेखन तथा शिवराम श्रेष्ठको छायांकन (डीओपी) रहेको यस चलचित्रका निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन् भने सह-निर्माताको जिम्मेवारी छत्रमाया गिरी र रमेश चौलागाईंले सम्हालेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu