टेरेन्स लुइसको उपस्थितिमा ‘वर्ल्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनाले सम्पन्न: विजेताहरूले अमेरिका, थाइल्यान्ड र हङकङमा नेपालको प्रतिनिधित्व गर्ने, नगदसँगै सुनको ट्रफी पाए



काठमाडौं – विश्वव्यापी ख्यातिप्राप्त नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनाले राजधानीमा भव्यताका साथ सम्पन्न भएको छ। भारतीय प्रख्यात कोरियोग्राफर टेरेन्स लुइसको विशेष उपस्थिति तथा नेपाली चलचित्र क्षेत्रका थुप्रै दिग्गज कलाकर्मीहरूको जमघटबिच विभिन्न चार डिभिजनका विजेताहरूको घोषणा गर्दै प्रतियोगिता समापन गरिएको हो। देशका विभिन्न पाँच सहरहरू तथा भारतबाट समेत आएका नृत्यकारहरूको अडिसनबाट छानिएका उत्कृष्ट प्रतिभाहरूले फिनालेमा आफ्नो बेजोड प्रस्तुति दिएका थिए।

कडा प्रतिस्पर्धाबिच सम्पन्न फिनालेमा जुनियर डिभिजनतर्फ रिधि सरकारले प्रथम स्थान हासिल गरेका छन् भने ‘पप इन स्माइली’ द्वितीय र दीपेश तथा ऋषि तृतीय भएका छन्। त्यसै गरी, जुनियर टिम डिभिजनतर्फ ‘क्रिएटर्स क्रु’ले उपाधि चुमेको छ भने ‘एनडिए जुनियर’ दोस्रो र ‘पूर्वाञ्चल डान्स स्टुडियो’ तेस्रो बनेका छन्। अपर डिभिजनमा साजन पाख्रिन प्रथम, साजन गुरुङ द्वितीय र ‘स्टार्स स्टेपर्स क्रु’ तृतीय घोषित भएका छन्। अपर टिम डिभिजनको उपाधि भने ‘टिम एनटी’ले हात पारेको छ, जहाँ ‘इन्नेट सोल्स’ र ‘एस स्क्वायर फ्यामिली’ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे। प्रत्येक डिभिजनका विजेताहरूले जनही १ लाख रुपैयाँ नगद पुरस्कार र २४ क्यारेट सुनको जलप लगाइएको विशेष ट्रफी प्राप्त गरेका छन्।

यस प्रतियोगिताको सबैभन्दा ठुलो आकर्षण विजेताहरूले विश्व मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउनु हो। कार्यक्रमका कलात्मक निर्देशक जेडी तमुका अनुसार, अपर र जुनियर टिम डिभिजनका सबै फाइनलिस्ट पर्फर्मरहरूले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन्। नेपालका यी टोलीहरूले अमेरिकामा हुने ‘वर्ल्ड फाइनल’, थाइल्यान्डमा हुने ‘ग्लोबल डान्स रेप्रिजेन्टेटिभ’ र हङकङमा हुने ‘वर्ल्ड सुप्रिमेसी ब्याटलग्राउन्ड’मा सहभागी भई विश्व मञ्चमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने ऐतिहासिक अवसर प्राप्त गर्ने तमुले जानकारी दिए।

कार्यक्रमको सफलता र नेपाली नृत्य क्षेत्रको उचाइबारे बोल्दै राष्ट्रिय निर्देशक रोशन गहतराजले भने, “यस प्लेटफर्मले नेपाली प्रतिभाहरूलाई विश्वसामु चिनाउने मात्र नभई, हाम्रो नृत्य क्षेत्रको स्तरलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको छ। उदीयमान नेपाली डान्सरहरूका लागि यो एउटा यस्तो ढोका हो, जसले उनीहरूको सपनालाई विश्वव्यापी मञ्चमा जोड्नेछ र आगामी दिनमा पनि यस्ता अवसरहरू प्रदान गर्न हामी कटिबद्ध छौँ।”

ग्रान्ड फिनालेलाई थप आकर्षक र ग्ल्यामरस बनाउन नेपाली चलचित्र तथा मनोरञ्जन क्षेत्रका चर्चित अनुहारहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा मिरुना मगर, तेरिया फौजा, दयाहाङ राई, परीक्षा लिम्बु, कविता नेपाली, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, शिल्पा मास्केदेखि अभिषेक खड्कासम्मका स्टारहरू अतिथिका रूपमा सहभागी थिए। फिनालेको निर्णायक मण्डलमा बलिउडका सफल कोरियोग्राफर तथा सेलिब्रेटी ग्रान्ड जुरी टेरेन्स लुइसका साथै नेपालका लेजेन्डरी ‘वाइल्ड रिपर्ज क्रु’का सदस्य किरण थापा र कलात्मक निर्देशक जेडी तमु रहेका थिए। सन् २००८ मा क्यालिफोर्नियाबाट सुरु भएको यो विश्व स्तरीय प्लेटफर्मले नेपाली उदीयमान डान्सरहरूका लागि एउटा ठुलो प्रेरणा र अन्तर्राष्ट्रिय ढोका खुला गरेको छ।

यो ग्रान्ड इभेन्ट झम्सिखेलस्थित ‘द प्लाजा’मा लक्जरी सेटअपका साथ सम्पन्न भएको थियो। डान्सरहरू आफैँ आयोजक रहेर यति ठुलो स्केलमा आयोजना गरिएको यो इभेन्ट नेपालकै पहिलो हो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu