
काठमाडौं – प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेसँगै बालमनोविज्ञानमा आधारित नेपाली चलचित्र ‘रोल नं १’ ले बक्सअफिसमा उत्कृष्ट व्यापारिक लय समातेको निर्माता विनोद पौडेलले बताएका छन्। आज काठमाडौं उपत्यकासहित मोफसलका सिनेमाघरहरूमा दर्शकको उच्च चाप देखिएको उनले जनाए। पौडेलका अनुसार, काठमाडौं उपत्यकाका हलहरूमा यस चलचित्रले ८० प्रतिशतभन्दा माथिको सानदार अकुपेन्सी कायम गरेको छ भने मोफसलका स्टेसनहरूमा पनि ४५ प्रतिशतभन्दा बढीको सुखद व्यापार गरिरहेको छ।
दर्शकहरूबाट प्राप्त अत्यन्तै सकारात्मक ‘वर्ड अफ माउथ’ का कारण सिनेमाले व्यापारिक रूपमा यो ठूलो छलाङ मारेको निर्माण पक्षको विश्लेषण छ। विद्यार्थी, शिक्षक र सम्पूर्ण अभिभावक वर्गले अनिवार्य हेर्नैपर्ने चलचित्र भन्दै दर्शकहरूले नै स्वस्फूर्त रूपमा सिफारिस गर्न थालेपछि हलहरूमा चहलपहल ह्वात्तै बढेको हो। दर्शकको यो उत्साहजनक साथ र बढ्दो अकुपेन्सी देखेपछि चलचित्रका निर्माता विनोद पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत खुसी व्यक्त गर्दै, “हिजोसम्म बामे सरेको हाम्रो सिनेमा ‘रोल नं १’ आजबाट हिँड्न सुरु गर्यो,” भनी प्रतिक्रिया दिएका छन्।
बालमनोविज्ञानको निकै गम्भीर र संवेदनशील विषयलाई मुख्य आधार बनाएको यस चलचित्रले हाम्रो समाजमा विद्यमान त्रुटिपूर्ण शैक्षिक मूल्याङ्कन पद्धतिमाथि कडा प्रश्नचिह्न खडा गरेको छ। कलिला मस्तिष्कमा पारिने अनावश्यक दबाब, अभिभावकको अपेक्षा र यथार्थपरक प्रस्तुतिलाई नै दर्शकहरूले सबैभन्दा बढी रुचाउँदै मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यस अर्थपूर्ण चलचित्रलाई जौन योञ्जनले निर्देशन गरेका हुन् भने यसको लेखन् महेश दवाडीले गरेका हुन्। चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारीको मुख्य अभिनय रहेको छ। त्यसैगरी, बालकलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले पर्दामा जीवन्त प्रस्तुति दिएका छन्। चलचित्रका निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन् भने सह-निर्माताको जिम्मेवारी छत्रमाया गिरी र रमेश चौलागाईंले निर्वाह गरेका छन्।




