
काठमाडौं – दिग्गज भारतीय अभिनेता नाना पाटेकरको बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको छ। भारतीय मिडियाका अनुसार आज बिहान ५:२० बजे उनको निधन भएको हो।
करिब ४५ मिनेटसम्म सीपीआर दिएर बचाउने प्रयास गरिए पनि उनी जीवित रहन सकेनन्। उनको निधनपछि मेडिको-लिगल केस (एमएलसी) दर्ता गरी पोस्टमार्टम गरिने बताइएको छ।
हिन्दी र मराठी चलचित्रमा आफ्नो लामो र सफल करियर बनाएका पाटेकरले तीन पटक राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए। उनले ‘परिन्दा’ (सन् १९८९) र ‘अग्निसाक्षी’ (सन् १९९६) का लागि उत्कृष्ट सह-अभिनेता तथा ‘क्रान्तिवीर’ (सन् १९९४) का लागि उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरेका थिए। सन् २०१३ मा ‘पद्मश्री’ सम्मानबाट विभूषित उनी चलचित्र ‘वेलकम’ मा ‘उदय शेट्टी’ को हास्य भूमिकाका लागि पनि दर्शकमाझ निकै लोकप्रिय थिए।
अभिनयका साथै भारतीय सेनाप्रति उनको गहिरो लगाव थियो। चलचित्र ‘प्रहार’ का लागि सेनासँग करिब तीन वर्ष सैन्य तालिम लिएका उनी टेरिटोरियल आर्मीमा आबद्ध भई मानार्थ लेफ्टिनेन्ट कर्नेलको पदबाट सन् २०१३ मा सेवानिवृत्त भएका थिए।
सन् १९९९ को कारगिल युद्धका बेला समेत तत्कालीन रक्षामन्त्रीको विशेष अनुमति लिएर उनले द्रास, लेह र कुपवाडा जस्ता अग्रपङ्क्तिका क्षेत्रमा सेनासँग करिब तीन साता बिताएका थिए।



