कबड्डी ५ः ‘मैयाँ’का लागि लड्ने ‘काजी’ अब केका लागि लड्दैछन् ?



काठमाडौं -‘कबड्डी’का अघिल्ला चार शृंखला सम्झिनुहोस् त! काजीको एउटै ध्याउन्न थियो- मैयाँलाई पाउने। मैयाँको पछि लाग्दै, साथीभाइसँग झगडा गर्दै, अनेक हर्कत गर्दै काजीले प्रेम प्राप्तिका लागि गरेको संघर्ष नै ‘कबड्डी’को मुख्य कथा बन्यो। तर पाँचौँ भागमा आइपुग्दा काजीको प्रश्न फेरिएको छ।

अब प्रश्न मैयाँलाई कसरी पाउने भन्ने होइन। प्रेम पाएपछि जीवन कसरी चलाउने?

आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’मा काजी यही नयाँ परिस्थितिसँग जुध्दैछन्। अभिनेता दयाहाङ राईका अनुसार यसपटक काजीले प्रेमसँगै परिवार, समाज र साथीभाइका लागि धेरै कुरामा सम्झौता गर्नुपर्नेछ।

किनकि एउटा उमेरसम्म हामीलाई लाग्छ- ‘मेरो जिन्दगी हो, मेरो निर्णय हो।’ तर समय बित्दै जाँदा परिवार चाहिन्छ, साथीभाइ चाहिन्छ, समाज पनि चाहिन्छ। अनि त्यहीँबाट सुरु हुन्छ जीवनको अर्को अध्याय।

‘कबड्डी ५’मा काजीको जीवनमा मैयाँ फेरि फर्किन्छिन्। पुरानो प्रेमले मनमा हलचल त ल्याउँछ, तर यसपटक काजीको प्राथमिकता केवल प्रेम पाउनुमा मात्रै छैन। उसले आफ्नो सपना, परिवार, साथीभाइ र समाजबीच सन्तुलन मिलाउनुपर्नेछ।
अझ बदलिँदो राजनीतिक परिवेशले पनि काजीको जीवन र सोचमा प्रभाव पार्नेछ। त्यसैले पाँचौँ भागमा आइपुग्दा काजी उही पुरानो काजी त हुन्, तर उनको जीवन भने पहिलेको जस्तो छैन। र दयाहाङलाई त काजी अब पर्दाको पात्रभन्दा पनि आफ्नै साथी जस्तो लाग्न थालेको छ।

१५ वर्षदेखि एउटै पात्रसँग यात्रा गर्दा यस्तो हुनु स्वाभाविक पनि होला। तर रमाइलो कुरा के छ भने- दयाहाङ काजीको कथा यहीँ सकियोस् भन्ने पक्षमा छैनन्। उनी त काजी र उसका साथीहरू ६५ वर्ष पुगेपछि उनीहरूको जीवन कस्तो होला भनेर अर्को कथा बनाउने सोचमा समेत छन्।

अब हेर्न बाँकी कुरा एउटै छ- मैयाँ पाएपछि काजीको जीवन साँच्चिकै सुखी हुन्छ त? कि प्रेम पाउनु नै काजीको सबैभन्दा ठूलो समस्या बन्नेछ?

यसको जवाफका लागि कात्तिक ६ गतेसम्म पर्खिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu