दसैँको परिवेश झल्काउँदै चलचित्र ‘आ बाट आमा २’ को दोस्रो पोस्टर सार्वजनिक



काठमाडौं – आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र ‘आ बाट आमा २’ को दोस्रो पोस्टर शुक्रबार सार्वजनिक गरिएको छ। दसैँको माहोल, पारिवारिक संवेदना, आमाको पर्खाइ र जमराको कथालाई मुख्य विषयवस्तु बनाइएको यस चलचित्र आगामी असोज ३० गते (विजया दशमीको अवसर पारेर) देशभरका सिनेमा हलमा प्रदर्शनमा आउँदैछ।

सार्वजनिक पोस्टरमा मुख्य अभिनेता पल शाहलाई मानसिक सन्तुलन गुमाएको जस्तो अवस्थामा देखाइएको छ भने विपना थापा, प्रदीप रावत, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल र मलिका महतलाई भावुक मुद्रामा प्रस्तुत गरिएको छ। “‘आउँछु’ भन्ने एउटा झुटो आशामा आमाले वर्षेनी जमरा छरिरहन्छिन्” भन्ने मर्मस्पर्शी संवाद पोस्टरमा समावेश गरिएको छ। चलचित्रमा यी कलाकारहरूका साथै रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडा लगायतको अभिनय रहेको छ।

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको यस चलचित्रका संवाद रोशन भट्टले तयार पारेका हुन्। आर्या पन्त प्रस्तुतकर्ता र करण सिंह कार्यकारी निर्माता रहेको चलचित्रमा नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको सङ्गीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ। निर्माण पक्षका अनुसार चलचित्रको टिजर आगामी सोमबार सार्वजनिक गरिनेछ। आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने यस चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu