काठमाडौं – चलचित्र ‘छ माया छपक्कै-२’ फूलपातीमा रिलिज हुने भएको छ। दसैंमा आउने चर्चा भइरहेपनि ठ्याक्कै मिति तोकिएको थिएन। अब यो चलचित्र असोज ३१ मा आउने जानकारी पहिलो पोस्टर सार्वजनिक गर्दै दिइएको छ।
पोस्टरमा अभिनेता दीपकराज गिरीलाई बीचमा राखेर बाँसुरी बजाइरहेको र उनको दायाँबायाँ अभिनेत्रीद्वय केकी अधिकारी र सनिशा भट्टराईलाई गर्भवती महिलाको रूपमा प्रस्तुत गरिएको छ। यसले चलचित्रको कथावस्तु पारिवारिक सम्बन्ध, सामाजिक परिस्थिति र हास्यव्यंग्यको वरिपरि घुम्ने रोचक संकेत गरेको छ।

दीपेन्द्र लामाको निर्देशन रहेको यस चलचित्रको पटकथा दीपकराज गिरी र निर्देशक लामाले संयुक्त रूपमा लेखेका हुन्। चलचित्रमा दीपकराज, केकी र सनिशाका साथै कार्म शाक्य, रिहान गिरी र रविन्द्र झाको मुख्य अभिनय रहेको छ भने जितु नेपालको छोटो भूमिका रहनेछ।
आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रका निर्माता रोहित अधिकारी हुन् भने कार्यकारी निर्मातामा निर्मल शर्मा र सुरज बम ठकुरी रहेका छन्। सन् २०१९ मा प्रदर्शन भएको सफल चलचित्र ‘छ माया छपक्कै’ को यो दोस्रो शृंखलालाई दर्शकले प्रतीक्षाका साथ हेरेका छन्।



