चलचित्र ‘ए मेरो हजुर ५’ को नियमित छायांकन सुरु, २०८४ को नयाँ वर्षमा प्रदर्शन हुने



काठमाडौं – २५ दिनको तालिका तय गर्दै चलचित्र ‘ए मेरो हजुर ५’ को नियमित छायांकन काठमाडौंको पशुपतिनाथ क्षेत्रबाट सुरु भएको छ। यसअघि गत साउन २९ गते ललितपुरको बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरी बाजुराको बडीमालिका र खप्तड क्षेत्रमा केही दृश्य खिचिएको यस चलचित्रको बाँकी छायांकन अब नियमित रूपमा अघि बढाइएको निर्देशक झरना थापाले जानकारी दिएकी छन्। यो चलचित्र नेपाली नयाँ वर्ष २०८४ को अवसर पारेर देशभर प्रदर्शनमा आउनेछ।

झरना थापाकै निर्देशन रहने यस चलचित्रमा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा प्रस्तुत हुँदैछन्, जुन उनीहरूको तेस्रो सहकार्य हो। उनीहरूका साथै चलचित्रमा दिलीप रायमाझी, सलोन बस्नेत, निरज पन्थी र आशा भुसालको पनि अभिनय रहनेछ। यस फ्रेन्चाइजको पहिलो शृंखलामा मुख्य भूमिका निर्वाह गरेकी झरना थापा करिब २५ वर्षपछि यसै चलचित्रमार्फत अभिनयमा समेत फर्किने भएकी छन्, यद्यपि उनको चरित्रबारे खुलाइएको छैन।

चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक थापा र सरिन पोखरेलले संयुक्त रूपमा तयार पारेका हुन्। यसमा कल्याण सिंह, आशिष अविरल, कोशिश क्षेत्री, सलिन मगर र एकदेव लिम्बूको सङ्गीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहनेछ। प्राविधिक पक्षतर्फ नवराज शर्मा मुख्य सहायक निर्देशक, कुमार सिलवाल प्रोडक्सन डिजाइनर र साहिल खान पोस्ट-प्रोडक्सन प्रमुख रहेका छन्। सुपरहिट फ्रेन्चाइजको रूपमा स्थापित यस चलचित्रलाई काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसनले वितरण गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu