
काठमाडौं – ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय चलचित्र ‘जलाकी’ को टिजर युट्युबमार्फत सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोमा मुख्य कलाकारहरू उपासना सिंह ठकुरी, सोनम तोप्देन, अस्तित्व भट्टचन र डेब्यु अभिनेत्री साहारा हाङमा लिम्बूलाई प्रस्तुत गरिएको छ। टिजरमा शिक्षिकाको भूमिकामा रहेकी उपासनाको बाल्यकाल, कलेज यात्रा, सोनमसँगको प्रेमकथा र प्राकृतिक सौन्दर्य (हिमाल, पहाड, वनजंगल र नदी) लाई आकर्षक रूपमा देखाइएको छ।
आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउन लागेको यस चलचित्रले मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावनालाई कथाको केन्द्रमा राखेको छ। निर्देशक मगरका अनुसार ‘जलाकी’ शब्दले मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाको स्तम्भलाई जनाउँछ। यसअघि सार्वजनिक गीत ‘चाँदी जलप’ र पोस्टरले दर्शकमाझ राम्रो हाइप निर्माण गरिसकेका कारण निर्माण पक्ष टिजरप्रति थप उत्साहित देखिएको छ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा सोनम र उपासनाका साथै शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकार र विशेष भूमिकामा क्याप्टेन विजय लामाको अभिनय रहेको छ। चलचित्रका निर्माताहरूमा ओम घर्ती मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्। यस चलचित्रलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले वितरण गर्नेछन्।



