
काठमाडौं – यही असोज ३० गते देखि देशभर प्रदर्शनको तयारीमा रहेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘आ बाट आमा २’ को अन्तिम चरणको छायांकन हङकङमा सुरु भएको छ। चलचित्रका बाँकी महत्त्वपूर्ण दृश्यहरू खिच्न मुख्य अभिनेता पल शाह, अभिनेत्री रिश्ता गुरुङ र निर्देशक चन्द्र पन्तसहितको प्राविधिक टोली हङकङ पुगेको हो।
गाउँमा आमाले गर्ने पर्खाइ र सात समुद्रपारि परदेशमा सन्तानले भोग्नुपर्ने बाध्यताबीचको भावनात्मक अन्तरसम्बन्धलाई मुख्य कथावस्तु बनाइएको यस चलचित्रको हङकङ सेड्युलमा पल र रिश्ता जोडिएका विशेष ड्रामेटिक र प्रवासी परिवेशका दृश्यहरू खिचिनेछन्। हालै सार्वजनिक भएको यस चलचित्रको टिजरले ३ दिनमै ४२ लाखभन्दा बढी भ्युज पाएर कीर्तिमान बनाएको छ भने पहिलो गीत ‘अचेल किन कान्छी’ ले पनि व्यापक चर्चा कमाइरहेको छ। हङकङको छायांकन सकिएलगत्तै टोली नेपाल फर्किएर पोस्ट-प्रोडक्सनमा जुट्ने निर्देशक पन्तले बताएका छन्।
आर्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको यस चलचित्रमा पल शाह, रिश्ता गुरुङ, विपना थापा, मलिका महत, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, साइग्रेस पोखरेल, निकिता आचार्य, गजित विष्ट, नरेन खड्का, दिलिप ओखेडा र स्वर्गीय प्रदीप रावतको मुख्य अभिनय रहेको छ। रोशन भट्ट र चन्द्र पन्तको लेखन तथा करण सिंह कार्यकारी निर्माता रहेको यस पारिवारिक चलचित्रलाई आरआर फिल्मस्ले नेपालभर वितरण गर्नेछ।



