
काठमाडौं – नेपाली चलचित्र उद्योगमा यो हप्ता एउटा निकै रमाइलो र सनसनीपूर्ण कुरा हुँदैछ है! आगामी शुक्रबार दुईवटा ठूला स्टारहरूको भिडन्त हुँदैछ – यो भिडन्त हलमा भने होइन, डिजिटल बजारमा हो।
एकातिर आउँदैछ अनमोल केसीको एकदमै प्रतीक्षित चलचित्र ‘बाटुलो जुन’ को टिजर। अनमोल आफैले यो चलचित्रलाई आफ्नो करियरकै सबैभन्दा फरक र आफूलाई ‘वास्तविक कलाकार’ को रूपमा चिनाउने चलचित्र भनेका छन्। सधैं चकलेटी रूपमा देखिने अनमोल यसपालि कस्तो अवतारमा आउने हुन्, बजारमा निकै ठूलो चासो छ।
अनि अर्कोतिर, समीर भट्टको प्रतीक्षित ‘१२ गाउँ २’ को दोस्रो गीत पनि सोही दिन रिलिज हुँदैछ। यो गीतलाई कालिञ्चोकको सुन्दर सेटअपमा खिचिएको छ। यसअघिको टिजर र पहिलो गीतले त हाइप बढाइसक्यो, अब यो दोस्रो गीतले कस्तो धमाका मचाउने हो, हेर्न बाँकी छ।
शुरुमा त यी दुवै चलचित्र असोज ३० मै सँगै रिलिज हुने चर्चा थियो। तर ‘बाटुलो जुन’ले आफ्नो रिलिज मिति कार्तिक २६ लाई तोक्यो भने ‘१२ गाउँ २’ असोज ३० मै आउँदैछ। हलमा सिधै नभिडे पनि आगामी शुक्रबारको कन्टेन्ट भिडन्त भने निकै कडा हुनेवाला छ।



