
काठमाडौं – ‘कबड्डी’को दुनियाँमा अब एउटा यस्तो पात्र छिर्दैछ, जसको प्रवेशले दर्शकलाई एउटै प्रश्न सोध्न बाध्य बनाएको छ, “आखिर विपिन कार्कीको पात्र कस्तो छ ?”
चलचित्र “कबड्डी ५ : आफ्टर द फाइनल म्याच”को टिजर सार्वजनिक भएसँगै सबैभन्दा धेरै ध्यान तानेको विषयमध्ये एउटा हो, विपिन कार्कीको प्रवेश। टिजरमा विपिनलाई देखाइन्छ, तर उनको पात्रबारे धेरै कुरा खुलाइएको छैन। बरु, उनको बोल्ने शैलीले नै कौतुहल बढाएको छ। बोलीमा केही फरकपन अनि त्यही फरक शैलीमा विपिनको संवाद। यसले दर्शकलाई अनुमान लगाउने ठाउँ दिएको छ, “‘कबड्डी’को यो संसारमा विपिन कस्तो पात्र बनेर आएका हुन् ?”
विपिन कार्की नेपाली अभिनयमा पात्रअनुसार आफूलाई बदल्न रुचाउने अभिनेताका रूपमा चिनिन्छन्। पात्रलाई केवल संवादबाट होइन, हाउभाउ, बोली र शरीरको भाषासम्मै समातेर प्रस्तुत गर्ने उनको शैली धेरै फिल्ममा देखिएको छ। अब उनै विपिन ‘कबड्डी’को दुनियाँमा छिरेका छन्। अझ रोचक कुरा त के भने, ‘कबड्डी ५’को कथा अघिल्लो भाग जहाँ टुंगिएको थियो, त्यहीँबाट अगाडि बढाइएको संकेत टिजरले गर्छ। दयाहाङ राईको काजी, विजय बरालको बीके र बुद्धि तामाङको छन्त्यालसँगै नयाँ पात्रहरू थपिँदा यसपटकको कथा कुन दिशातर्फ जान्छ भन्ने चासो झन् बढेको छ।
रिपोर्टहरूका अनुसार, फिल्ममा पुराना पात्र र सम्बन्धलाई निरन्तरता दिँदै नयाँ कथाको विस्तार गरिएको छ। त्यसैले अहिले ‘कबड्डी ५’को टिजर हेरेपछि दर्शकको एउटा प्रश्न भने पक्कै छ, “विपिन कार्कीको यो नयाँ पात्रले काजी, बीके र छन्त्यालको दुनियाँमा के गर्न आउँदैछ ?” यो थाहा पाउन भने कात्तिक ६ गतेसम्म कुर्नुपर्नेछ।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’मा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङलगायत कलाकारको अभिनय छ। फिल्म दसैँको टीकाको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेबाट प्रदर्शनमा आउनेछ। तर अहिलेका लागि चासो एउटै छ, ‘कबड्डी’को दुनियाँमा विपिन छिरेका छन्। विपिनको त्यो पात्र आखिर को हो ?
टिजरः



