
काठमाडौं – शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बा: एक योद्धा’ ले प्रदर्शनको पाँचौं दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य साथ पाउन थालेको छ। सुरुवाती तीन दिन लगातारको वर्षाका कारण प्रभावित बनेको चलचित्रले मंगलबारको ‘डिल डे’ (५० प्रतिशत छुट) सँगै दर्शकको बाक्लो उपस्थिति पाएको हो। दर्शकको माग बढेसँगै बुधबारसम्म आइपुग्दा यस चलचित्रले देशभरका हलहरूमा १०० भन्दा बढी शो पाएको छ भने मंगलबारका थुप्रै शोहरू हाउसफुल भएका थिए।
सन्तानका लागि आमाबाबुले गर्ने त्याग, सङ्घर्ष र वृद्धावस्थामा उनीहरूले सन्तानबाट भोग्नुपर्ने उपेक्षालाई मर्मस्पर्शी रूपमा देखाइएको यस चलचित्र हेरेर अधिकांश दर्शक भावुक बनेका छन्। दर्शकहरूले यसलाई आफ्नै घरपरिवारको यथार्थ कथा भन्दै आफ्ना सन्तानलाई पनि देखाउनुपर्ने प्रतिक्रिया दिएका छन्। बढेको दर्शकको चापसँगै उत्साहित बनेको चलचित्रको कलाकार टोली हलमै पुगेर दर्शकसँग साक्षात्कार र प्रतिक्रिया लिइरहेको छ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको मुख्य अभिनय रहेको छ। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता वसन्त लम्साल, कार्यकारी निर्माता अनिल बुढाथोकी, सह-निर्माता कृष्ण काफ्ले र लाइन प्रोड्युसर अर्जुन पौडेल रहेका छन्।




