पहिलो सातामा ‘बा: एक योद्धा’ को १ करोड ११ लाख ग्रस कलेक्सन, दोस्रो हप्तामा दर्शकको चाप बढ्दै



काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बा: एक योद्धा’ ले पहिलो साता बक्सअफिसमा १ करोड ११ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। पहिलो दिन ६ लाख रुपैयाँको व्यापारबाट सुरुवात गरेको यस चलचित्रलाई सात दिनमा ४० हजार ८२३ दर्शकले हेरेका छन्। दर्शकबाट प्राप्त उत्कृष्ट ‘वर्ड अफ माउथ’ का कारण हलहरूमा दर्शकको चाप क्रमशः बढ्दै गएको र दोस्रो हप्तामा प्रवेश गर्दा देशभर १०० भन्दा बढी शो पाएको निर्माण तथा वितरण पक्षले जनाएको छ।

चलचित्रका मुख्य अभिनेता दिव्यदेवले यसको व्यापारलाई इभी गाडीसँग तुलना गर्दै चलचित्रले विस्तारै गति लिएको बताएका छन्। त्यस्तै, निर्देशक हरि लम्सालले दर्शकहरूले सपरिवार चलचित्र हेर्न सिफारिस गरिरहेकाले दोस्रो हप्तामा व्यापार अझै उकालो लाग्ने र दर्शकको संख्या बढ्ने विश्वास व्यक्त गरेका छन्। सन्तानका लागि आमाबाबुले गर्ने सङ्घर्ष, त्याग र वृद्धावस्थामा सन्तानबाटै भोग्नुपर्ने उपेक्षा र दुःखलाई यस चलचित्रले मर्मस्पर्शी रूपमा प्रस्तुत गरेको छ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रमा हरि लम्सालको लेखन (कथा/पटकथा) तथा निर्देशन रहेको छ। चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ। यसका निर्माता वसन्त लम्साल, कार्यकारी निर्माता अनिल बुढाथोकी, सह-निर्माता कृष्ण काफ्ले र लाइन प्रोड्युसर अर्जुन पौडेल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu