
काठमाडौं – गत साउन १ गतेबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौंथली’ ले प्रदर्शनको ७५ दिन सफलतापूर्वक पार गर्दै २६ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ। निर्माता सुमन गिरीका अनुसार यस अवधिसम्म चलचित्रका ९ लाख ४३ हजार ३३१ वटा टिकट बिक्री भइसकेका छन्।
चलचित्र विकास बोर्डको सिनेपाः विवरणअनुसार असोज ११ गतेसम्म नै २५ करोड ९५ लाखभन्दा बढी व्यापार गरिसकेको यो चलचित्र, ‘पूर्ण बहादुरको सारङ्गी’ पछि नेपाली सिनेमा उद्योगकै दोस्रो सर्वाधिक कमाउने चलचित्र बन्न सफल भएको छ।
डा. कपिल रिजालको निर्देशनमा निर्माण भएको यस चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिना लगायतका कलाकारहरूको अभिनय रहेको छ। भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको संयुक्त प्रस्तुति रहेको यस चलचित्रका निर्माता सुमन गिरी र डा. कपिल रिजाल हुन् भने कार्यकारी निर्माता सरला रिजाल रहेकी छन्।




