‘बा : एक योद्धा’को काठमाडौं प्रिमियर सम्पन्न, दर्शक तथा विशिष्ट व्यक्तिहरूबाट उत्कृष्ट प्रतिक्रिया



काठमाडौं – यही शुक्रबार अर्थात् असोज ९ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बा : एक योद्धा’ को मंगलबार साँझ काठमाडौंमा आयोजित प्रिमियरमा उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ। यसअघि मोफसलका विभिन्न सहरहरूमा सकारात्मक प्रतिक्रिया पाएको यस चलचित्रलाई काठमाडौंका दर्शक, चलचित्रकर्मी र विशिष्ट व्यक्तिहरूले नेपाली समाजको यथार्थसँग जोडिएको मर्मस्पर्शी कथा भनेर तारिफ गरेका छन्। चलचित्रले विशेषगरी सन्तानका लागि बुवाले गर्ने त्याग, सङ्घर्ष र बुढेसकालमा विदेशिएका वा टाढिएका सन्तानबाट भोग्नुपर्ने एक्लोपन र उपेक्षालाई गहिरोसँग प्रस्तुत गरेको छ।

प्रिमियरमा सहभागी वरिष्ठ अभिनेता हरिवंश आचार्यले चलचित्र हेरेर आफू भावुक बनेको र मनमनै रोएको प्रतिक्रिया दिँदै बुवाको चरित्रमा देखिएका दिव्यदेवको अभिनयको खुलेर प्रशंसा गरे। त्यस्तै, पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले यसलाई कथावस्तु, प्रस्तुति र सन्देशका हिसाबले उत्कृष्ट चलचित्रको संज्ञा दिँदै यसले पारिवारिक सम्बन्धमा आत्मसमीक्षा गर्न प्रेरित गर्ने बताए। अभिनेत्री ऋचा शर्माले सुहाना र झरना थापाको अभिनयको तारिफ गर्दै दिव्यदेवलाई चलचित्रको ‘सुपरस्टार’ बताइन् भने अभिनेत्री पुष्पा थिङ लामाले चलचित्रको संवाद र बुवाको निरीह अवस्थाले आफूलाई रुवाएको प्रतिक्रिया दिइन्।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको मुख्य अभिनय रहेको छ। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता वसन्त लम्साल, कार्यकारी निर्माता अनिल बुढाथोकी, सह-निर्माता कृष्ण काफ्ले र लाइन प्रोड्युसर अर्जुन पौडेल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu