
काठमाडौं – अभिनेता तथा निर्देशक भुवन केसीको निर्देशनमा निर्माण भएको चलचित्र ‘बाटुलो जून’ आगामी कात्तिक २६ गते (भाइटीकाको भोलिपल्ट) बाट देशभर प्रदर्शनमा आउने भएको छ। बुधबार चलचित्रको नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले प्रदर्शन मिति तय गरेको हो। यसअघि दशैंमा रिलिज गर्ने तयारी गरिए पनि एकैसाथ अन्य चार चलचित्र प्रदर्शनमा आउने भएकाले हल र पर्दा बाँडफाँडमा समस्या नहोस् र चलचित्र उद्योगमा आपसी सहमति कायम होस् भन्ने उद्देश्यले वितरक तथा प्रदर्शकको सल्लाहमा प्रदर्शन मिति तिहारलाई सारिएको निर्देशक केसीले स्पष्ट पारेका छन्।
सार्वजनिक पोस्टरमा मुख्य कलाकार अनमोल केसी र प्रिन्सी खतिवडालाई प्रेमिल मुद्रामा प्रस्तुत गरिएको छ। अनमोलको लुक्सले ५० को दशकको झल्को दिन्छ भने पृष्ठभूमिमा बलिरहेको लाल्टिन र आकाशको टहटह जूनले चलचित्र ग्रामीण परिवेशमा बुनिएको प्रेमकथामा आधारित रहेको संकेत गर्छ।
सानराइज पिक्चर्सको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता जीया केसी र भविष्य खड्का हुन् भने सह-निर्मातामा विवेक थापा रहेका छन्। सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको संयुक्त लेखन रहेको यस चलचित्रमा अनमोल र प्रिन्सीका साथै भुवन केसी, नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना र शिशिर शिवाकोटी लगायतका कलाकारहरूको अभिनय रहेको छ।



