
काठमाडौं – यही शुक्रबार (असोज ९ गते) बाट देशभर प्रदर्शनमा आउन लागेको अन्तरजातीय प्रेमकथामा आधारित नेपाली चलचित्र ‘जदौ’ को दोस्रो विस्तारित ट्रेलर सार्वजनिक गरिएको छ। साढे दुई मिनेट लामो यस ट्रेलरमा जातीय विभेद र त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरिएको छ। सार्वजनिक ट्रेलरलाई युट्युबमा दर्शकले सकारात्मक प्रतिक्रिया दिँदै समाजको यथार्थ कथा, जीवन्त संवाद र मुख्य अभिनेता प्रभात पाल ठकुरीको लुक्स तथा अभिनयको प्रशंसा गरेका छन्। यसअघि नै सार्वजनिक भएका ‘जदौ हजुर’ र ‘तिमीसँग नबोली’ बोलका गीतले चलचित्रप्रति दर्शकको चासो बढाइसकेका छन्।
अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशन तथा निर्देशक लिम्बू स्वयंको लेखन रहेको यस चलचित्रमा ऋचा शर्मा, नीति शाह, प्रभात पाल ठकुरी, मुकुन भुसाल, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, खड्ग बहादुर पुन मगर (खबपु), सुन्दर धिताल, गीता अधिकारी, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा र रोहित कार्की लगायतका कलाकारहरूको अभिनय रहेको छ।
सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता रहेको यस चलचित्रमा श्याम तामाङ र नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ। चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरीको सङ्गीत तथा मनोज चौलागाईं र भुपेन्द्र बज्राचार्यको पार्श्व सङ्गीत समावेश छ। निर्माण पक्षका अनुसार प्रदर्शनको मिति नजिकिएसँगै सिनेमा हलहरूमा चलचित्रको अग्रिम बुकिङ सुरु भइसकेको छ।



