
काठमाडौं – विकास सुवेदीको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘२६ करोड’ को मंगलबार साँझ मुम्बईस्थित पाँचतारे होटल ‘ताज ल्याण्ड्स एन्ड’ मा औपचारिक रूपमा निर्माण घोषणा गरिएको छ। क्यान्सर पीडितको सहयोगार्थ आयोजित ‘रोज डे’ समारोहका बीच बलिउड अभिनेता विवेक ओबेरोय, निर्माता सुभाष भुसाल, निर्देशक विकास सुवेदी र समन्वयकर्ता चक्रबहादुर चन्दले संयुक्त रूपमा यस चलचित्रको घोषणा गरेका हुन्।
यस सामाजिक कथावस्तुमा आधारित चलचित्रबाट नेपाली मूलकी साहारा शाहले मुख्य अभिनेत्रीको रूपमा डेब्यु गर्दैछिन्। उनी एक ‘क्यान्सर सर्भाइभर’ हुन् जसले बलिउड अभिनेता अनुपम खेरको ‘एक्टर प्रिपेयर्स एकेडेमी’ बाट अभिनय प्रशिक्षण लिएकी छन्। चलचित्रमा उनको जोडी अभिनेता प्रदीप खड्कासँग बाँधिनेछ, जो यसअघि नै चलचित्रका लागि अनुबन्धित भइसकेका छन्। लामो समयदेखि साहाराको अभिभावकत्व सम्हाल्दै आएका अभिनेता ओबेरोयले क्यान्सरलाई जितेर उनले नायिकाको रूपमा गर्न लागेको यस डेब्युलाई आफ्ना लागि सबैभन्दा ठूलो उपहार भएको बताएका छन्।

किङडम नेटवर्कको ब्यानरमा निर्माण हुने यस चलचित्रको छायांकन आगामी डिसेम्बर (पुस) महिनादेखि नेपाल र भारतका विभिन्न स्थानहरूमा गरिने निर्माण पक्षले जनाएको छ।
चलचित्र घोषणा समारोहलाई सम्बोधन गर्दै अभिनेता ओबेरोय निकै भावुक बनेका थिए। उनले भने, “मैले साहारालाई क्यान्सरसँग लड्दै गरेको एउटा सानो बच्चाको रूपमा देखेको थिएँ। आज उनले क्यान्सरलाई जितेर चलचित्रको मुख्य नायिकाको रूपमा सम्झौता गरिरहँदा म शब्दमा बयान गर्न नसकिने गरी भावुक भएको छु।”



