चलचित्र ‘कार्की साइँला’को प्रचार छाडेर बाढीपीडितको सहयोगमा जुटिन् अभिनेत्री प्रियना आचार्य



काठमाडौं – रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा चलचित्र ‘कार्की साइँला’ की अभिनेत्री प्रियना आचार्य राहत सामग्रीसहित पुगेकी छन्। भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएकाहरूका लागि उनले आफ्नो व्यक्तिगत पहलमा ५ गाडी खाद्यान्न तथा अन्य अत्यावश्यक राहत सामग्री पठाएकी हुन्।

आगामी असोज २ गतेबाट आफू अभिनित चलचित्र ‘कार्की साइँला’ देशभरका सिनेमाघरमा प्रदर्शनमा आउन लागे पनि उनले यतिबेला प्रचारप्रसारभन्दा मानवीय सहायतालाई प्राथमिकता दिएकी छन्। अभिनेत्री आचार्यले विपद्को समयमा चलचित्रको प्रचारभन्दा बिचल्लीमा परेका मानिसहरूलाई राहतको खाँचो रहेको बताउँदै आफू यसै अभियानमा पूर्ण रूपमा सक्रिय भएको जानकारी दिएकी छन्।

भारी बोकेर जीविकोपार्जन गर्ने पात्रको कथामा आधारित यस चलचित्रमा जितु नेपाल र प्रियना आचार्यको मुख्य भूमिका रहेको छ। उनीहरूका साथै चलचित्रमा सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बू, कमल देवकोटा, रोदा राई, मेनुका आचार्य र गणेश राजभण्डारी लगायतका कलाकारको अभिनय रहेको छ। यसअघि सार्वजनिक भएको चलचित्रको ‘लग्यौ परान’ बोलको गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ।

डम्बर राईको कथामा निर्माण भएको यस चलचित्रको निर्देशन राजेन्द्र बस्नेतले गरेका हुन्। शंकर धिताल र सबिन अधिकारीको पटकथा तथा संवाद रहेको चलचित्रका निर्माता बाल कुमार राई र निर्भिक बञ्जारा हुन् भने कार्यकारी निर्माता अनन्त राई रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu