
काठमाडौं – राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘कंगाल करोडपति’को शुक्रबार काठमाडौंको कमलादीस्थित गणेशस्थानमा शुभ-मुहूर्त गरिएको छ। सामाजिक तथा पारिवारिक विषयवस्तुमा निर्माण हुन लागेको यस चलचित्रको छायांकन आगामी भदौ २९ गतेबाट सुरु हुने निर्माण पक्षले जनाएको छ।
शुभ-मुहूर्त कार्यक्रमअघि हालै रसुवा, नुवाकोट र धादिङमा आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मौनधारण गरिएको थियो। सोही अवसरमा निर्माण पक्षले बाढीपहिरो पीडितहरूको राहत तथा सहयोगार्थ ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा समेत गरेको छ।
सिनेमा पाठशाला प्रा.लि.को ब्यानरमा निर्माण हुने यस चलचित्रका प्रस्तुतकर्ता प्रविण आचार्य हुन् भने निर्मातामा अनिल कुमार बुढाथोकी रहेका छन्। चलचित्रमा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, रक्षा थापा, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिं, राजन काथ्री, हरि भण्डारी र भीमसेन खतिवडा लगायतका कलाकारहरूको अभिनय रहनेछ। यस प्रोजेक्टमा अश्विन बराल, दिपेश तिरुवा र प्रविन राई सहनिर्माता तथा रिता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरका रूपमा जोडिएका छन्।
रामकृष्ण बजगाईंको कथा रहेको यस चलचित्रको पटकथा तथा संवाद चानस पुन मगरले लेखेका हुन्। प्राविधिक पक्षतर्फ चलचित्रमा हरि घले लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहनेछ। एसडी योगी, निराजन राई र दिप्सन लिम्बू गरी तीन जना सङ्गीतकारले यस चलचित्रमा सङ्गीत भर्नेछन्। त्यस्तै, जीवन गौतम मुख्य सहनिर्देशक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक र सुदीप अधिकारी कला निर्देशकका रूपमा रहेका छन्।




