
काठमाडौं । गत हप्ताबाट नेपालसँगै विश्व बजारमा एकसाथ प्रदर्शनमा रहेको चलचित्र ‘बाटुलो जून’को ‘पानी पर्यो’ बोलको गीत सार्वजनिक भएको छ । चलचित्र प्रदर्शनमा आएको एक हप्तापछि निर्माण टोलीले यो रोमान्टिक गीत युट्युबमा सार्वजनिक गरेको हो ।
गीतमा दुई पुस्ताको प्रेमकथा देखाइएको छ । अभिनेता अनमोल केसी र अभिनेत्री प्रिन्सी खतिवडाले नयाँ पुस्ताको प्रेमलाई प्रतिनिधित्व गरेका छन् भने चलचित्रका निर्देशकसमेत रहेका अभिनेता भुवन केसी र अभिनेत्री गरिमा पन्तबीच अधबैंसे प्रेम देखाइएको छ ।
नेपाली चलचित्र क्षेत्रमा सदाबहार नायकका रूपमा चिनिने भुवन केसी यो गीतमार्फत वर्षौंपछि रोमान्टिक अवतारमा दर्शकमाझ देखिएका छन् । पुराना नेपाली चलचित्रका ‘रोमान्टिक हिरो’ केसीलाई नेपाली म्युजिक भिडियो इतिहासका पहिलो मोडलका रूपमा पनि चिनिन्छ ।
निर्माण टोलीका अनुसार यो गीतले चलचित्रको समग्र कथालाई पूर्णता दिएको छ । निर्देशक केसी भन्छन्, ‘यो गीत चलचित्रको उत्कृष्ट प्रस्तुतिमध्ये एक हो, जसले स्वादिष्ट भोजनपछिको मिठाईजस्तो अनुभूति गराउँछ ।’
सनराइज पिक्चर्स प्रालि र भविष्य फिल्म्सको ब्यानरमा बनेको ‘बाटुलो जून’का निर्माता जिया केसी र भविष्य खड्का हुन् । विवेक थापा सहनिर्माता छन् । चलचित्रमा नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेयर राई, श्वेता मिश्र, सुजन भाइ, सविन कट्टेल, सिद्धार्थ सिंह, अमितेश शाह, हीना नगरकोटी र संगी अधिकारी पोखरेलको पनि अभिनय छ ।
चलचित्रको लेखन सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले संयुक्त रूपमा गरेका हुन् । कृष्ण भण्डारी सम्पादक, रोमन बज्राचार्य पार्श्वसंगीतकार र प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक छन् ।


