
काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक भएको छ । यसअघि गीत ‘बाँसैको सुप्लाखे’ सार्वजनिक गरेको निर्माण टोलीले बुधबार टिजर ल्याएको हो ।
टिजरमा मुख्य कलाकार विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने देखिएका छन् । मौलिक परम्परागत संस्कृतिबाट सुरु हुने टिजरमा सुरुमा विजय र अञ्जनाको प्रेम, विवाह र खुसी देखिन्छ । त्यसपछि खलपात्रका रूपमा विनोद न्यौपानेको प्रवेशसँगै कथामा द्वन्द्व सुरु हुन्छ ।
उनको प्रवेशपछि विजय वियोगमा पर्छन् भने अञ्जनाले धोका र पीडा भोग्छिन् । प्रेमिल घटनाक्रमबाट सुरु भएको टिजर पात्रहरूको दुःख र भावनामा पुगेर टुंगिन्छ । टिजरमा देखिएको गाउँको परिवेशले धेरैलाई पुराना दिन सम्झाउँछ ।
सरोज पौडेलको निर्देशन रहेको यो चलचित्रमा बक्सअफिसमा सफल जोडी विजय बराल र अञ्जना बराइली दोस्रो पटक सँगै देखिँदैछन् । यसअघि यही टोलीले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफलमध्ये मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेको थियो ।
चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायतको अभिनय छ ।
निर्देशक पौडेलकै कथामा सबिन अधिकारी र वसन्त न्यौपानेले पटकथा लेखेका हुन् । सारङ्गी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रका निर्माता नेम महर्जन हुन् । राकेश खड्का र श्याम मगर सहनिर्माता, सुमन रञ्जित एसोसिएट निर्माता, अनिश अधिकारी लाइन निर्माता र दिनेश खड्का कार्यकारी निर्माता छन् ।
चलचित्रको छायांकन पदमबहादुर श्रेष्ठ (बाबु), सम्पादन सुरेन्द्र पौडेल र संगीत प्रशान्त सिवाकोटीको छ । विशाल घिमिरे क्रिएटिभ निर्देशक छन् ।
मंसिर १८ गते प्रदर्शन हुने चलचित्रको वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ । बिग मुभिज थिएटर पार्टनर र ओएसआर डिजिटल डिजिटल पार्टनर छन् ।


