
काठमाडौं । भाइटीकाको भोलिपल्ट अर्थात् कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले चलचित्रको कथा र कालखण्डबारे जानकारी दिएको छ । चलचित्र ३०–४० को दशकको ग्रामीण परिवेशमा आधारित देखिन्छ ।
ट्रेलर पूर्णतः अनमोल केसी र प्रिन्सी खतिवडामा केन्द्रित छ । काजी पात्रको भूमिकामा रहेका अनमोल गाउँमै पढाउने काम गर्छन् । सोही क्रममा प्रिन्सीसँग उनको माया बस्छ । तर, अनमोलको परिवार भने उनीहरूको सम्बन्धको पक्षमा छैन । यस्तो अवस्थामा उनीहरूको प्रेमले पूर्णता पाउला कि नपाउला भन्ने नै ट्रेलरले छाडेको मुख्य रहस्य हो ।
ट्रेलरमा भुवन केसी र गरिमा पन्त पनि देखिएका छन् । उनीहरूको युवावस्थाको भूमिकामा अनमोल र प्रिन्सीले अभिनय गरेका छन् । बुबाको भूमिकामा देखिन अनमोलले जुँगासमेत पालेका छन् । समग्रमा ट्रेलरले क्लासिक प्रेमकथाको झल्को दिएको छ । चलचित्रले पुरानो पुस्ताका दर्शकलाई बितेका दिनको सम्झना गराउने देखिन्छ ।
भुवन केसीको निर्देशनमा बनेको चलचित्रमा न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, अमितेश शाह, शिशिर सिवाकोटी, हिना नगरकोटी, संगी अधिकारीलगायतका कलाकारको पनि अभिनय छ । सामिप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको चलचित्रका निर्माता जीया केसी र भविष्य खड्का हुन् ।




